च्याम्पियन्स लिगबारे लेवान्डोस्कीको यस्तो दाबी

एजेन्सी, चैत २६
जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले जारी सिजन युरोपियन च्याम्पियन्स लिगमा आफूहरूले बलियो दाबेदारी पेश गर्ने र उपाधि जित्ने सम्भावना प्रबल रहेको दाबी गरेका छन् । चर्चित पत्रिका ‘गार्डिएन’सँग कुरा गर्दै पोलिस फरवार्डले बार्यन यो सिजन विगत सिजनहरूभन्दा राम्रो अवस्थामा रहेको बताएका छन् ।

‘घरेलु लिगमा हाम्रा लागि अस्ति भर्खरसम्म राम्रो अवस्था थिएन । हामीले सुरुआतबाटै संघर्ष गर्नुपरेको थियो । तर, अहिले सबै कुरा ठीक छ,’ लेवान्डोस्कीले भने, ‘हामी सबै प्रतियोगितामा यतिबेला ठीक अवस्थामा छौं ।’

लेवान्डोस्कीले आफूहरूले च्याम्पियन्स लिगमा सुरुआतबाटै राम्रो गर्दै आएको उल्लेख गर्दै बाँकी खेलमा पनि राम्रो गरेर फाइनलसम्म पुग्ने बताए । ‘च्याम्पियन्स लिगमा हामी यसपटक राम्रो अवस्थामा छौं । हामी अन्तिम आठमा जान चेल्सीसँग खेल्दै छौं । यो खेल जितेर हामी अघि बढ्ने छौं,’ लेवान्डोस्कीले भने, ‘हाम्रो लक्ष्य अन्तिम आठ वा सेमिफाइनल मात्रै हैन, फाइनल पुगेर उपाधि जित्नु हो । हामी त्यसका लागि सबै हिसाबले तयार छौं ।’

लेवान्डोस्कीले यस सिजन बार्यनले च्याम्पियन्स लिग जित्न सक्ने पनि बताए । ‘हामी यतिबेला अझै बढी आत्मविश्वासी र सहज अनुभूत गरिरहेका छौं । टिमभित्र निकै राम्रो सञ्चार र समन्वय छ । खास गरी च्याम्पियन्स लिगमा कसरी राम्रो गर्ने भन्नेमा ड्रेसिङ रुम बलियो मनथितिमा छ,’ उनले थपे, ‘मलाई विश्वास छ– हामी यसपटक फाइनल पुग्न सक्छौं । र, उपाधि जित्न पनि सक्छौं ।’

प्रकाशित मिति २६ चैत्र २०७६, बुधबार ०८:३४
Loading...