रियललाई अर्को झट्का : रोड्रिगोलाई ‘इएल क्लासिको’ मा प्रतिबन्ध

एजेन्सी, फागुन १२
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडलाई सिजनको दोस्रो इएल क्लासिकोअघि चुनौती बढेको छ । प्रमुख फरवार्ड इडेन हाजार्ड घाइते भएलगत्तै अर्को भरपर्दा युवा खेलाडी रोड्रिगोमाथि पनि प्रतिबन्ध लागेको छ । यससँगै ब्राजिलियन युवा स्टारले अर्को साता बार्सिलोनाविरुद्ध हुने खेल गुमाउने भएका छन् ।

अघिल्लो दिन टिम ‘बी’को खेलमा रियल मड्रिड क्यासिटल्लाबाट एसएस रेइजविरुद्ध खेल्नेक्रममा रोड्रिगोले रातो कार्ड पाएका थिए । खेलको ८७औं मिनेटमा गोल गरेका उनले त्यसको १ मिनेटमै रातो कार्ड पाएका थिए । क्यास्टिल्लाले सो खेल २–० ले जितेको थियो ।

रोड्रिगोका लागि सो रातो कार्डको प्रतिबन्ध आगामी लिग खेलमा हुनेछ । जसमा कारण बार्सिलोनाविरुद्ध आइतबार राति हुने खेलमा उनी हुनेछैनन् । रोड्रिगो रियलका प्रशिक्षक जिनेदिन जिदानका लागि आक्रमण लाइनमा भरपर्दा वैकल्पिक खेलाडी हुन् ।

हाजार्ड चोटग्रस्त भए पनि र रोड्रिगोमाथि प्रतिबन्ध लागे पनि रियलको आक्रमण लाइनमा खेलाडीको अभाव भने छैन । यी अवस्थापछि पनि रियलको फ्रन्ट लाइनमा करिम बेन्जेमा, ग्यारेथ बेल, लुकास भासक्वेज, लुका जोभिक, भिनिसियस जुनियर, ब्राहिम डियाज, मारिआनोलगायत खेलाडी उपलब्ध हुनेछन् ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १२:२७
Loading...