भिल्लारियलमाथि एथ्लेटिकोको जित : पाँच महिनापछि फेलिक्सले गरे गोल

काठमाडौं, फागुन १२
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले प्रभावशाली जित निकालेको छ । गत राति भएको लिगको २५औं खेलमा एथ्लेटिकोले भिल्लारियलमाथि ३–१ को जित निकालेको हो । आफ्नो घरमा एथ्लेटिकोलाई जिताउन ३ जना खेलाडीले गोल गरे ।

आफ्नो घरमा १६औं मिनेटमा गोल खाएर पछि परेको एथ्लेटिकोले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो । पाहुना टोली भिल्लारियलका लागि नयाँ खेलाडी पाको अल्कासेरले गोल गरेका थिए ।

त्यसपछि खेलको ४०औं मिनेटमा घरेलु टोलीका लागि एन्जल कोरेराले गोल गरेर खेल १–१ बनाए । त्यसपछि ६४औं मिनेटमा कोकेले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाउँदा ७४औं मिनेटमा जुआओ फेलिक्सले गोल गरेपछि एथ्लेटिकोको ३–१ को जित पक्का भयो ।

पोर्चुगिज फरवार्ड फेलिक्सले ला लिगामा गत सेप्टेम्बर महिनायता पहिलोपटक गोल गरेका हुन् । घरेलु लिगमा उनी पाँच महिना लामो गोलको खडेरीबाट गुज्रिएका थिए ।

अब यो जितसँगै एथ्लेटिकोले २५ खेलबाट ४३ अंक जोडेर लिगको तेस्रो स्थानमा चढेको छ । पराजित भिल्लारियल २८ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार ०९:११
Loading...