बोर्डेक्समाथि पिएसजीको संघर्षपूर्ण जित : नेइमारलाई रातो कार्ड

काठमाडौं, फागुन १२
दुवै तर्फबाट गरी एकै खेलमा ७ गोलको वर्षा भएको लिग वानको खेलमा पिएसजीले बोर्डेक्समाथि ४–३ को संघर्षपूर्ण जित निकालेको छ । गत राति आफ्नो घरमा भएको खेलमा पिएसजीलाई आफ्नो घरमा जिताउन इडिसन काभानी र केलियन एमबाप्पेले १–१ गोल गर्दा मार्किन्होस्ले २ गोल गरे ।

पिएसजीको घरमा पाहुना टोली बोर्डेक्सका लागि खेलको १८औं मिनेटमा ह्वाङ युई–जोले अनमार्क अवस्थामा हेडिङमार्फत् गोल गरेका थिए । तर, खेलको २५औं मिनेटमा काभानीले डि मारियाको पासमा सुन्दर हेडिङ गोल गरेपछि खेल बराबरी भयो । त्यसपछि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मार्किन्होस्ले गोल गरे भने लगत्तै थप समयको छैटौं मिनेटमै बोर्डेक्सका लागि पाब्लोले गोल गरेपछि पहिलो हाफ २–२ सकियो ।

त्यसपछि दोस्रो हाफ सुरु भएपछि ६३औं मिनेटमा मार्किन्होस्ले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई अग्रता दिलाउँदा ६९औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजी ४–२ को अवस्थामा पुग्यो । त्यसपछि ८३औं मिनेटमा बोर्डेक्सका लागि रुबेन पार्डोले बक्सबाहिर लामो दूरीबाट हानेको शक्तिशाली प्रहारले सोझै जाली चुमेपछि पिएसजीको जित ४–३ मा झरेको थियो ।

पिएसजीका नेइमार खेलको इन्जुरी समयमा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेका थिए । उनले आगामी खेल गुमाउने भएका छन् । यो जितसँगै पिएसजीले लिग वानमा २६ खेलबाट ६५ अंक जोडेको छ ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार ०८:४९
Loading...