युनाइटेडको शानदार जितमा फर्नान्डेजले खोले गोलको खाता

काठमाडौं, फागुन ११
हालै जनवरी विन्डोमा अनुबन्ध भएका नयाँ खेलाडी ब्रुनो फर्नान्डेजले क्लबका लागि पहिलो गोल गरेको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा शानदार जित निकालेको छ । आइतबार राति भएको लिगको २७औं खेलमा युनाइटेडले पाहुना टोली वाटफोर्डलाई ३–० ले गोलले स्तब्ध बनायो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि खेलको ४२औं मिनेटमा पोर्चुगिज मिडफिल्डर फर्नान्डेजले पेनाल्टीमार्फत् गोल गरेका थिए । पेनाल्टी पनि उनैले जितेका थिए । बक्समा वाटफोर्डका खेलाडीले फर्नान्डेजमाथि गम्भीर फउल गरेपछि पाएको पेनाल्टी फर्नान्डेज आफैंले हानेर सहजै गोल गरे । उनले नयाँ क्लबका पहिलो गोल गरेका हुन् ।

त्यसपछि वाटफोर्डले दोस्रो हाफ सुरु हनासाथ बराबरी गोल गरे पनि सो गोल भिएआरले रद्द गरेपछि युनाइटेडलाई राहत मिलेको थियो । त्यसपछि खेलको ५८औं मिनेटमा एन्थोनी मार्सियालले बक्सभित्रबाट चिप प्रहारमा सुन्दर गोल गरेपछि युनाइटेड सहज जिततर्फ अघि बढेको थियो ।

फेरि खेलको ७५औं मिनेटमा युनाइटेडका लागि युवा खेलाडी मासोन ग्रीनउडले शानदार गोल गरेपछि खेल युनाइटेडले ३–० ले जित्यो । सो गोलमा ब्रुनो फर्नान्डेजले नै असिस्ट गरेका थिए । पोर्चुगिज खेलाडीले हासम्म ३ खेलबाट १ गोल गर्दै २ गोलमा असिस्ट गरेका छन् ।

अब यो जितसँगै युनाइटेडले टप–४ को सम्भावना थप बढाएको छ । उसले २७ खेलबाट ४१ अंक जोडेर चौथो स्थानको चेल्सीसँगको अंक दूरी ३ मा झारेको छ । पराजित वाटफोर्ड २४ अंकसहित १९औं स्थानमा छ ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार २२:०४
Loading...