रोनाल्डोका नाममा १००० : मेस्सीका नाममा १००० !

काठमाडौं, फागुन ११
शनिबार राति विश्व फुटबलका दुई खास प्रतिस्पर्धी इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो र स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले एकै रात आ–आफ्नो खेल खेल्दा दुवैका लागि रेकर्डका हिसाबले संयोगपूर्ण रह्यो । स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो घरमा एइबारलाई ५–० ले हराउँदा मेस्सी एक्लैले ४ गोल गरे ।

यता, इटालियन सिरी ए लिगमा युभेन्टसले अवे मैदानमा एसपिएललाई २–१ ले हराउँदा रोनाल्डोले १ गोल गरे । सोही १ गोलको मदतमा रोनाल्डोले एकसाथ विभिन्न पाँच रेकर्डसमेत आफ्नो नाममा लेखाएका थिए ।

शनिबारका यी खेलसँगै मेस्सी र रोनाल्डोको नाममा एकसाथ १००० अंक अंकित भयो । मेस्सीले एइबारविरुद्ध ४ गोल गरेसँगै आफ्नो करिअरमा देश तथा क्लबका लागि गरी कूल १०००औं गोलमा सहभागिता पूरा गरे भने रोनाल्डोले आफ्नो करिअरमा देश तथा क्लबका लागि गरी १०००औं खेल खेले ।

मेस्सीले हालसम्म सिनियर टोलीका लागि खेल्नेक्रममा अर्जेन्टिना तथा बार्सिलोनाका लागि गरी कूल १ हजार २ गोलमा सोझै सहभागी भएका छन् । एइबारविरुद्ध दोस्रो गोल गर्दा मेस्सीको १०००औं आँकडा पूरा भएको थियो । पछि एकै खेलमा ४ गोल गरेपछि उनले सिनियर टोलीका लागि ‘गोल प्लस असिस्ट’ गरी कूल १ हजार २ गोलमा सोझै सहभागी भएका छन् । सोक्रममा मेस्सीले कूल ८७६ खेल खेलेका छन् ।

यता, रोनाल्डोले गत राति नै सिनियर टोलीका लागि कूल १०००औं खेल पूरा गरे । सो दौरान ३५ वर्षका रोनाल्डोले पहिलो पोर्चुगिज क्लब स्पोर्टिङका लागि ३३ खेल, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि २९२ खेल, स्पेनिस क्लब रियल मड्रिडका लागि ४३८ खेल, युभेन्टसका लागि ७३ तथा पोर्चुगलका लागि १६४ गरी कूल १००० हजार खेल पूरा गरेका छन् । रोनाल्डोले कूल १००० खेल पूरा गर्दा जम्मा ७२६ गोल गरेका छन् ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार २१:२८
Loading...