रोनाल्डोको १ गोलले एकसाथ बने यस्ता पाँच रेकर्ड

काठमाडौं, फागुन ११
इटालियन सिरी ए लिगमा गत राति युभेन्टसले अवे मैदानमा एसपिएललाई २–१ ले हरायो । सोक्रममा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले सुरुआती गोल गरेका थिए । पछि आरोन राम्सेले १ गोल गरेपछि खेल युभेन्टसले जितेर लिगमा शीर्षस्था कायमै राख्यो ।

सो खेलमा १ गोल गरेसँगै ३५ वर्षका रोनाल्डोका नाममा एकैपटक पाँच फक–फरक रेकर्ड बनेका छन् । जसमा केही रेकर्ड भने निकै महत्त्वपूर्ण छन् । यहाँ यसबारे चर्चा गरिएको छ ।

रेकर्ड १ – सबैभन्दा धेरै खेलको गोल रेकर्ड बराबरी

गत रातिको गोलसँगै रोनाल्डोले सिरी ए लिगमा सबैभन्दा धेरै खेलमा लगातार गोल गर्ने २४ वर्ष पुरानो रेकर्ड बराबरी गरेका छन् । यसअघि सिरी ए लिगको इतिहासमा अर्जेन्टिनाका लिजेन्ड खेलाडी बाटिसटुटाले सिजन १९९४–९५ सिजनमा फियोरेन्टिनाका लागि लगातार ११ खेलमा गोल गरेर कीर्तिमान बनाएका थिए ।

सो रेकर्डलाई गत सिजन मात्रै साम्पडोरियाका फाबियो क्वाग्लिएरिल्लाले बराबरी गरेका थिए । उनले लगातार ११ खेलबाट १४ गोल गरेका थिए । अब सिरी ए लिगमा सबैभन्दा धेरै ११ खेलसम्म लगातार कीर्तिमानी गोल गर्ने रेकर्ड संयुक्त रूपमा ३ जनाका नाममा रहेको छ । यदि अर्को साता युभेन्टस र इन्टर मिलानको खेलमा रोनाल्डोले गोल गर्ने सके उनले यो दुर्लभ रेकर्ड आफ्नो नाममा लेखाउनेछन् ।

रेकर्ड २ – तीन फरक–फरक प्रतियोगितामा ११ खेलमा गोल

पोर्चुगलका कप्तान रोनाल्डो अब तीन फरक–फरक ठूला प्रतियोगितामा सबैभन्दा धेरै लगातार ११ खेलसम्म गोल गर्ने पनि खेलाडी बनेका छन् । रोनाल्डो स्पेनिस ला लिगा, युरोपियन च्याम्पियन्स लिग र इटालियन सिरी ए लिगमा लगातार ११ खेलसम्म गोल गर्ने खेलाडी बनेका हुन् ।

र, यस्तो रेकर्ड अन्य कुनै पनि खेलाडीका नाममा छैन । रोनाल्डोले रियल मड्रिडमा छँदा ला लिगामा पनि ११ भन्दा बढी खेलसम्म गोल गरेर कीर्तिमान बनाएका थिए । उनले लगातार १६ खेलसम्म ला लिगामा गोल गरेका छन् । त्यस्तै, च्याम्पियन्स लिगमा पनि उनले लगातार ११ खेलसम्म गोल गरेका छन् । यसलाई त च्याम्पियन्स लिग इतिहासमै दुर्लभ रेकर्ड मानिन्छ ।

रेकर्ड ३ – गत सिजनको गोल संख्या बराबरी

गत सिजन युभेन्टसमा पहिलो सिजन बिताउनेक्रममा रोनाल्डोले सिजनभरमा घरेलु लिगमा मात्र २१ गोल गरेका थिए । तर, यसपटक उनले निकै चाँडो २१ गोल गरेका छन् । लिगमा गोल गर्ने मामिलामा उनी यस सिजन निकै अगाडि देखिएका छन् । गत सिजनभरमा गरेजति गोल उनले यसपटक लिगका १३ खेल बाँकी छँदै गरेका हुन् ।

रोनाल्डोले गत सिजन कूल ३० खेलबाट २१ गोल गरेका थिए भने यसपटक ९ कम खेलको अवस्थामा २१ गोल गरेका हुन् । हालकै अवस्थामा रोनाल्डो घाइते नभई ठीकठाक खेलेको अवस्थामा सिरी ए मा यो सिजन ३० भन्दा बढी गोल गर्ने देखिन्छ ।

रेकर्ड ४ – करिअरको १०००औं खेल

गत राति अवे मैदानमा एसपिएलविरुद्ध खेल्दा रोनाल्डोका लागि सो खेल सिनियर करिअरमा १०००औं खेल थियो । उनले सिनियर टोलीबाट फुटबल खेल्न थालिकन देश र विभिन्न क्लबबाट गरी कूल १००० खेल पूरा गरेका छन् । सोक्रममा उनले पोर्चुगलका लागि १६४ खेल खेल्दा पहिलो क्लब स्पोर्टिङका लागि ३३ खेल खेलेका छन् ।

त्यसैगरी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि उनले २९२ खेल खेल्दा रियल मड्रिडका लागि ४३८ खेल खेलेका छन् । उनले हालको क्लब युभेन्टसका लागि हालसम्म ७३ खेल खेलेका छन् । सोक्रममा रोनाल्डोले समग्रमा कूल ७२५ गोल गरका छन् । उनले ९९ गोल पोर्चुगल र बाँकी गोल क्लब फुटबलमा गरेका छन् ।

रेकर्ड ५ – कोस्टाको रेकर्डसँग बराबरी

गत रातिको गोल सँगै रोनाल्डोले इटालियन लिगमा पोर्चुगका खेलाडीले गरेको सर्वाधिक गोल रेकर्डसँग पनि बराबरी गरेका छन् । यसअघि पोर्चुगलका रुई कोस्टाले कूल ३३९ खेल खेल्दै ४२ गोल गरेका थिए । तर, रोनाल्डोले भने मात्रै ५२ खेलबाट ४२ गोल गर्दै कोस्टाको रेकर्डसँग बराबरी गरेका हुन् । अब १ गोल गरेपछि रोनाल्डो इटालियन लिगमा सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी पनि बन्नेछन् ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार २०:२२
Loading...