जेनोआलाई लाजियोले हरायो : युभेन्टसमाथि चर्को दबाब !

काठमाडौं, फागुन ११
इटालियन सिरी ए लिगमा उपाधि होडमा रहेको लाजियोले लिग लिडर युभेन्टसमाथि चर्को दबाब कायमै राखेको छ । आइतबार भएको लिगको २५औं खेलमा लाजियोले अवे मैदानमा जेनोआलाई २–३ ले हराउँदै युभेन्टससँगको अंक दूरी १ मा झारेको छ ।

अवे मैदानमा लाजियोका लागि खेलको दोस्रो मिनेटमै अडाम मारुसिचले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५१औं मिनेटमा लाजियोका लागि सिरो इम्मोबाइलले गोल गरेर टिमलाई सहज जितको बाटो देखाएका थिए । जारी सिजन उनले लिगमा कूल २७ गोल गरिसकेका छन् । उनी गोल्डेन बुट दौडमा सबैभन्दा अघि छन् ।

गोल खाएपछि खेलको ५७औं मिनेटमा जेनोआका लागि फ्रान्सिस्को कास्साटाले गोल गरेर गोलअन्तर १–२ मा झारेका थिए । खेलमा फर्किन संघर्षरत जेनाआ त्यत्तिबेला स्तब्ध बन्यो, जब ७१औं मिनेटमा लाजियोका लागि ड्यानिलो काटाल्डीले गोल गरेर खेल १–३ बनाए ।

तर, खेलको ९०औं मिनेटमा जेनोआले पेनाल्टी पायो । बक्समा लाजियोका डिफेन्डरले ह्यान्ड बल गरेपछि रेफ्रीले भिएआरको मदतमा जेनोआलाई पेनाल्टीको अवसर दिएका थिए । जसमा डोमेनिाको क्रिस्टिोले गोल गरेर टिमलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

तर, थप ५ मिनेटको इन्जुरी समयमा जेनोआले गोल गर्न सकेन । र, खेल लाजियोले २–३ ले जित्यो । अब यो जितसँगै लाजियोले २५ खेलबाट ५९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ऊ लिग लिडर युभेन्टसभन्दा मात्रै १ अंकले पछि छ । पराजित जेनोआ २२ अंकसहित १८औं स्थानमा छ ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार १९:२१
Loading...