रियल मड्रिडलाई लाग्यो ठूलो झट्का : ठूला खेलका मुखमा हाजार्ड फेरि घाइते

एजेन्सी, फागुन ११
जारी सिजनको उपाधि होड निर्णायक मोडतर्फ अघि बढेका बेला स्पेनिस क्लब रियल मड्रिडलाई भने ठूलो झट्का लागेको छ । ठूला खेलका मुखमा उसका प्रमुख खेलाडी इडेन हाजार्ड फेरि घाइते भएका छन् । रियलमा पहिलो सिजन बिताइरहेका उनी तेस्रोपटक घाइते भएका हुन् ।

गत समर सिजनमा इंग्लिस क्लब चेल्सीबाट १०० मिलियन युरोमा रियल पुगेका बेल्जियन स्टार हाडार्जका लागि चोटका कारण यो सिजन करिअरको सबैभन्दा खराब सिजन हुने भएको छ । लगातार चोटग्रस्त हुँदा उनलाई व्यक्तिगत रूपमा घाटा मात्रै भएको छैन, टिमलाई पनि उत्तिकै समस्या हुँदै आएको छ ।

हाजार्ड पछिल्लोपटक करिब तीन महिना लामो चोटबाट फिट भएर गत साता मात्रै मैदान फर्किएका थिए । तर, गत राति ला लिगामा अवे मैदानमा लेभान्टेविरुद्ध खेल्नेक्रममा हाजार्डले पुनः चोट बोकेका छन् । क्लब रियलले आइतबार अफिसियल रूपमा प्रेस नोट जारी गर्दै हाजार्ड घाइते भएको पुष्टि गरेको छ ।

च्याम्पियन्स लिगमा अन्तिम १६ को खेल र ला लिगामा सिजनको दोस्रो इएल क्लासिको मुखमा हाजार्ड घाइते भएपछि रियललाई ठूलो चुनौती बढेको छ । रियलले बुधबार राति च्याम्पियन्स लगमा अन्तिम १६ को पहिलो लेगको खेल आफ्नो घरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ ।

त्यसपछि अर्को साता मार्च १ तारिखमा ला लिगामा सिजनको दोस्रो इएल क्लािसको आफ्नै घरमा खेल्दैछ । यी दुवै ठूला खेल हाजार्डले चोटका कारण गुमाउने पक्का भएको छ । हाजार्डबिना प्रशिक्षक जिनेदिन जिदानलाई सिजनका सबैभन्दा ठूला खेलमा टोली बनाउन र नतिजा आफ्नो पक्षमा निकाल्न ठूलो चुनौती बढेको छ ।

रियलले विज्ञप्ति निकाल्दै हाजार्डको चेकजाँचपछि उनको दायाँ खुट्टाको जोर्नीमा चोट परेको पुष्टि गरेको छ । हाजार्डले यो सिजन रियलका लागि १५ खेलबाट १ गोल गर्दै १ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार १७:२९
Loading...