रोनाल्डोद्वारा सिरी ए लिगको २४ वर्ष पुरानो दुर्लभ कीर्तिमान बराबरी

काठमाडौं, फागुन ११
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले घरेलु लिग सिरी ए मा सबैभन्दा धेरै खेलमा लगातार गोल गर्ने कीर्तिमान बराबरी गरेका छन् । गत राति अवे मैदानमा एसपिएललाई २–१ ले हराउनेक्रममा टिमका लागि सुरुआती गोल गरेका रोनाल्डोले यसअघि सबैभन्दा धेरै खेलमा लगातार गोल गर्ने दुई खेलाडीको २४ वर्ष पुरानो कीर्तिमानसँग बराबरी गरेका हुन् ।

रोनाल्डोभन्दा अघि यस्तो रेकर्ड ग्याब्रिएल बाटिसटुटा र फाबियो क्वाग्लिएरिल्लाको नाममा थियो । उनीहरू दुवैले लिगको इतिहासमा सबैभन्दा धेरै ११ खेलसम्म लगातार गोल गरेर कीर्तिमान बनाएका थिए । तर, अब सो कीर्तिमान रोनाल्डोले बराबरी गरेका छन् । र, ३५ वर्षका रोनाल्डोलाई सो रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाउन एक खेलमा गोल गर्न आवश्यक छ ।

अर्जेन्टिनाका लिजेन्ड खेलाडी बाटिसटुटाले सिजन १९९४–९५ सिजनमा फियोरेन्टिनाका लागि लगातार ११ खेलमा गोल गरेर कीर्तिमान बनाएका थिए । सो रेकर्डलाई गत सिजन मात्रै क्वाग्लिएरिल्लाले बराबरी गरेका थिए । उनले सिजन गत सिजन लगातार ११ खेलबाट कूल १४ गोल गरेका थिए ।

अब लिगमा युभेन्टसले अर्को साता इन्टर मिलानसँग खेल्दै छ । यदि सो खेलमा रोनाल्डोले गोल गर्न सके उनी सिरी ए इतिहासमा सबैभन्दा धेरै खेलमा गोल गर्ने खेलाडी बन्नेछन् । यससँगै जारी सिजन रोनाल्डोले घरेलु लिगमा २१ खेलबाट २१ नै गोल गरेका छन् । यो सिजन समग्रमा उनले ३६ खेलबाट ३६ नै गोल गरेका छन् ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार १५:५६
Loading...