मार्टिन भन्छन्– ‘मेस्सीले अंकमाल गरेको यो जर्सी म धुनेछैन’

एजेन्सी, फागुन ११
स्पेनिस ला लिगा फुटबलमा गत राति बार्सिलोनाले एइबारलाई आफ्नो घरमा ५–० ले हरायो । घरेलु मैदानमा बार्सिलोनाले पाहुना टोलीलाई शानदार हराउँदा कप्तान लिओनल मेस्सी एक्लैले ४ गोल गरेका थिए । अघिल्ला ४ खेलमा लगातार गोलविहीन बनेका उनले पाँचौं खेलमा एकैपटक ४ गोल गरेर अघिल्ला खेलको क्षतिपूर्ति पनि भराए ।

सोही खेलमा बार्सिलोनाका नयाँ खेलाडी मार्टिन ब्रेथवेटले पनि डेब्यु गरे । बार्सिलोनाले केही दिनअघि मात्रै अनुबन्ध गरेका डेनिस खेलाडी मार्टिनले गत राति क्याम्प नोउमा बार्सिलोनाको जर्सीमा डेब्यु गरे । उनी खेलको ७२औं मिनेटमा एन्टोनी ग्रीजम्यानको स्थानमा मैदान छिरेका थिए ।

१८ मिलियन युरोमा बार्सिलोनामा ला लिगा टोली लेगानेसबाट अनुबन्ध भएका मार्टिनले डेब्यु खेलमै उच्च प्रभाव जमाए । ७२औं मिनेटमा मैदान छिरेका उनले ८७औं मिनेटमा लिओनल मेस्सीको चौथो गोलमा असिस्ट गरे । फेरि लगत्तै ८९औं मिनेटमा अर्थुरको गोलमा पनि उनैले असिस्ट गरेर डेब्यु खेलमै २ गोलमा सहभागी भएर टिमलाई योगदान दिए ।

सो खेलपछि मार्टिनले निकै रमाइलो प्रतिक्रिया दिएका छन् । उनले मेस्सीसँग एकै जर्सीमा खेल्न पाउँदा खुसी लागेको बताउँदै मेस्सीको तारिफ मात्रै गरेनन्, मेस्सीले अंकमाल गरेको जर्सी आफूले सफा नगरी राख्ने पनि बताएका छन् । ‘मेस्सीले अंकमाल गरेको यो जर्सी म धुनैछैन,’ मिडियासँग रमाइलो गर्दै मार्टिनले भने ।

उनले अघि थपे, ‘डेब्यु खेलको मेरो पहिलो असिस्ट लियोलाई दिन पाउँदा म ज्यादै खुसी छु । यो दिन म कहिल्यै भुल्नेछैन ।’

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार १५:२८
Loading...