अगुएरो पेनाल्टीमा चुक्दा जेससले जिताए सिटीलाई : लेस्टर घरमै स्तब्ध

काठमाडौं, फागुन ११
सब्सिच्युट खेलाडी ग्याब्रिएल जेससले गरेको १ मात्रै गोलको मदतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित निकालेको छ । आइतबार बिहान भएको लिगको २७औं खेलमा सिटीले लेस्टर सिटीमाथि उसकै घरेलु मैदानमा ०–१ को जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली सिटीले खेलको ६२औं मिनेटमै पेनाल्टीमार्फत् गोल गर्ने मौका पाएको थियो । तर, अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो पेनाल्टीमा चुक्दा सिटीलाई झट्का लागेको थियो । अगुएरोको पेनाल्टी लेस्टरका गोलकिपरले बचाएका थिए । सिटी यो सिजन युरोपियन टप–५ लिगमा सबैभन्दा खराब पेनाल्टी हान्ने टिम पनि बनेको छ । उसले प्रिमियर लिगमा यो सिजन कूल ७ पेनाल्टी हानेकोमा सिटीका खेलाडी ४ पेनाल्टीमा गोल गर्न असफल भएका छन् ।

त्यसपछि खेलमा गोल हुन ८०औं मिनेटसम्म कुर्नुपरेको थियो । खेलको ७५औं मिनेटमा सर्जियो अगुएरोको स्थानमा मैदान छिरेका ब्राजिलियन खेलाडी जेससले ४ मिनेटमै गोल गरेपछि सिटीले ०–१ को कठिन जित निकाल्न सफल भयो । जेससले रियाद महारेजको पासमा गोल गरेका थिए ।

अब यो जितसँगै सिटीले २७ खेलबाट ५७ अंक जोडेको छ । तर, सिटी अझै पनि एक खेल कम खेलेको लिग लिडर लिभरपुलभन्दा १९ अंकले पछि छ । यता, पराजित लेस्टर भने समान २७ खेलपछि ५० अंक बनाएर तेस्रो स्थानमा यथावत छ ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार ०१:१८
Loading...