रोनाल्डोको लगातार गोलमा युभेन्टसको जित : ४ अंकको अग्रता

काठमाडौं, फागुन १२
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी लगातार ११ खेलमा गोल गर्दा इटालियन युभेन्टसले सिरी ए लिगमा महत्त्वपूर्ण जित हात पारेको छ । युरोपियन च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगको खेल खेल्नुअघि घरेलु लिगमा युभेन्टसले लिगको २०औं स्थानको एसपिएलमाथि १–२ को साँघुरो जित निकालेको हो ।

युभेन्टसका लागि रोनाल्डोले खेलको ३९औं मिनेटमा जुआन काउडराडोको क्रसमा वान टचमै बुलेट प्रहारमा दर्शनीय गोल गरेका थिए । सोही गोलको मदतमा युभेन्टसले पहिलो हाफमा ०–१ को अग्रता बनायो ।

त्यसपछि खेलको ६०औं मिनेटमा युभेन्टसका लागि आरोन राम्सेले पाउलो डिबालाको पासमा सुन्दर फिनिसङमा गोल गरेपछि युभेन्टस ०–२ को अग्रतासहित सहज जिततर्फ अघि बढेको थियो । तर, खेलको ६९औं मिनेटमा घरेलु टोली एसपिएलले भिएआरमार्फत् पेनाल्टी पाएकोमा आन्ड्रेय पेटाग्नाले गोल गरेपछि युभेन्टसको जित १–२ मा खुम्चियो ।

यस खेलमा युभेन्टसका रोनाल्डोले कम्तीमा ह्याट्रिक गर्ने मौका पाए पनि उनी दुई अवसरमा चुकेका थिए भने खेलको अन्तिम समयमा बक्स बाहिरबाट उनले हानेको शक्तिशाली फ्रि किक बारमा लागेर फर्किंदा रोनाल्डो इटालीमा पहिलो फ्रि किक गोल गर्नबाट चुके ।

अब यो जितसँगै युभेन्टसले लिगमा ४ अंकको स्पष्ट अग्रता बनाएको छ । युभेन्टस २५ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा रहँदा एक खेल कमी खेलेको लाजियो ५६ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार ००:३४
Loading...