बार्सिलोनाले मार्टिनेजका लागि ‘बम्पर’ प्रस्ताव पठायो

काठमाडौं, फागुन १०
स्पेनिस क्लब बार्सिलोनाले आगामी समरमा आफ्ना सरुवा योजनाको नम्बर वान सूचीमा रहेका इटालियन क्लब इन्टर मिलानका युवा फरवार्ड लौटारो मार्टिनेजका लागि अफिसियल प्रस्ताव गरेको रिपोर्ट बाहिरिएको छ । बार्सिलोना निकट पत्रिका ‘मुन्डो डेपोर्टिभो’को अनलाइन समाचारअनुसार बार्सिलोनाले इन्टरसँग अफिसियल प्रस्तावको खाका प्रस्ताव गरेको हो ।

बार्सिलोनाले आगामी समर सिजनमा आफ्ना उरुग्वेन फरवार्ड लुइस स्वारेजको उत्तराधिकारीका रूपमा अर्जेन्टिनाका २२ वर्षीय स्टार फरवार्डलाई भित्र्याउन चाहेको छ । र, त्यसका लागि उसले मिलानले मार्टिनेजका लागि तोकेको १११ मिलियन युरो रिलिज क्लज तिर्न तयार छ ।

रिपोर्टअनुसार बार्सिलोनाले इन्टरले तोकेको रिलिज क्लज १११ युरो मिलियन तिर्न तयार हुँदै अफिसियल प्रस्ताव गरेको हो । बार्सिलोनाले मार्टिनेजसँग सन् २०२५ सम्मका प्रतिसिजन ७ मिलियन युरो तलब दिने गरी व्यक्तिगत अफर प्रस्ताव पनि गरेको छ । साथै, प्रदर्शन र क्लबको सफलताअनुसार खेलाडीलाई बोनससमेत दिइनेछ ।

फुटबल सरुवा बजारका चर्चित ट्रान्सफर विशेषज्ञ निकोलो स्चिराले पनि बार्सिलोनाले इन्टरलाई अफिसियल प्रस्ताव पठाएको एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।

बार्सिलोनाका अनुभवी फरवार्ड स्वारेज अहिले घाइते छन् । र, उनी यो सिजनभर टोलीबाहिर हुनेछन् । हाल ३३ वर्ष पुगेका उनको बढ्दो उमेरलाई ध्यान दिँदै बार्सिलोनाले उनको स्थान लिन सक्ने खेलाडीका रूपमा मार्टिनेजलाई भित्र्याउन प्रयास गरिरहेको छ ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार १७:३६
Loading...