युइएफए नेसन्स लिग : नयाँ सिजनको ‘ड्र’ बारे पूरा जानकारी

काठमाडौं, फागुन १०
‘अर्थहीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई प्रतिस्थापन गरेर प्रतियोगितात्मक ढाँचामा खेलाउने’ अवधारणाअनुसार दुई वर्षअघिबाट युरोपमा सुरु भएको युइएफए नेसन्स लिग फुटबलको दोस्रो संस्करणको तयारी सुरु भएको छ । युरोपियन देशलाई समेटेर खेलाइने यस प्रतियोगिताका लागि युइएफएले सिजन २०२०–२१ का लागि ड्र गर्ने मितिसहित प्रतियोगिताको मिति पनि घोषणा गरेको छ ।

युइएफएले सिजन २०२०–२१ का लागि २०२० को मार्च ८ तारिख आइतबारका दिन समूह चरणको ड्र गर्नेछ । ड्र नेदरल्यान्ड्सको बेउर्स भान बर्लेज प्रदर्शनीस्थलमा नेपाली समयअनुसार राति १०ः४५ बजेबाट सुरु हुनेछ ।

यसपटक नेसन्स लिग २०२० को युरो कप सकिएपछि आगामी सेप्टेम्बर ३ तारिखबाट सुरु हुनेछ । जसमा समूह चरणका खेल सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा भइसक्नेछन् । यसपटकको नेसन्स लिगका खेललाई सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि युरोपियन क्षेत्रको छनौट खेलका रूपमा खेलाउने तयारी भइरहेको छ ।

यसअघि सिजन २०१८–१९ को नेसन्स लिग पोर्चुगलले जितेको थियो । फाइनलमा उसले नेदरल्यान्ड्सलाई हराएर पहिलो संस्करणको उपाधि पोल्टामा पारेको थियो ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार १४:४२
Loading...