प्रशिक्षक सेटिनद्वारा मेस्सीको भनाइमा असहमति : च्याम्पियन्स लिगबारे के–के भने ?

एजेन्सी, फागुन १०
तीन दिनअघि स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीले एक अन्तर्वार्तामा बोल्दै जारी सिजन बार्सिलोना युरोपियन च्याम्पियन्स लिगमा उपाधि दाबेदारी टिमका रूपमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा नरहेको बताएका थिए । मेस्सीले टिम हाल कमजोर अवस्थामा रहेको स्वीकार्दै च्यापियन्स लिगमा बार्सिलोनालाई उपाधिमा दाबेदार पेश गर्न सहज कठिन रहेको भनाइ राखेका थिए ।

सोहीक्रममा मेस्सीले जारी सिजन साबिक विजेता इंग्लिस क्लब लिभरपुल, इटालियन युभेन्टस, फ्रेन्च क्लब पिएसजी र स्पेनकै रियल मड्रिडमध्ये कुनै एकले उपाधि जित्न सक्ने पनि बताएका थिए । तर, मेस्सीको सो भनाइको प्रशिक्षक क्विके सेटिनले खण्डन गरेका छन् । उनले आफ्ना कप्तानको भनाइमा असहमति राखेका हुन् ।

शनिबार ला लिगामा एइबारसँग आफ्नो घरमा खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेटिनले मेस्सीले भनेजस्तो टिम च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा नरहेको भनाइमा असहमति जाहेर गरे । उनले टिम अझै पनि सबै प्रतियोगितामा सबै टोलीसँग भिड्न तयार रहेको र उपाधि दाबेदार रहेको बताए ।

‘मेस्सीले बोलेका थुप्रै कुरामा म सहमत छु । र, केही कुरामा असहमत । यो साँचो हो कि, च्याम्पियन्स लिगमा कुनै गल्ती गर्ने छुट हामीलाई छैन । तर, मैले २० वर्षदेखि यो प्रतियोगिता हेर्दै आएको छु । र, हामी अन्य टिमजस्तै उपाधि होडमा छौं,’ सेटिनले भने ।

सेनिटले अघि थपे, ‘च्याम्पियन्स लिगबारे मेस्सीले जे भने, त्यसमा म सहमत छैन । हामी च्याम्पियन्स लिगको उपाधि दाबेदार टिम हौं । र, अन्तिम समयसम्म शतप्रतिशत संघर्ष गर्नेछौं । हामीले सुधार गर्नुपर्ने थुप्रै कुरा छन् । अहिले जुन अवस्था छ, त्यसमा हामी पटक्कै खुसी छैनौं । तर, हामीले क्रमशः सुधार गर्दै लैजानुपर्छ । हामीले च्याम्पियन्स लिगमा अन्य टिमले जत्तिकै दाबेदारी दिन आत्मविश्वासी भएर अघि बढ्नुपर्छ ।’

सेटिनले पछिल्लो समयको प्रदर्शन, केही खेलका खराब नतिजा र प्रमुख खेलाडीको चोटले ड्रेसिङ रुममा आत्मविश्वासको कमी हुन सक्ने भन्दै यसलाई शक्तिमा बदल्नुपर्ने बताए । ‘पछिल्ला केही खेलका नतिजा, टिमको आलोचना र खेलाडीको गम्भीर चोटले ड्रेसिङ रुम केही निराश छ । तर, हामी सधैं यही अवस्थामा रहन सक्दैनौं । हामी हरेक खेलबाट सुधार गर्दै अघि जान सक्छौं,’ सेटिनले भने ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार १३:३७
Loading...