ला लिगा : रियल मड्रिड आज लेभान्टेसँग भिड्दै

काठमाडौं, फागुन १०
स्पेनिस ला लिगा फुटबलमा आज लिग लिडर रियल मड्रिड लिगको २५औं खेल खेल्दै छ । सो खेलका लागि रियल १३औं स्थानको लेभान्टेको घरेलु मैदानमा उत्रिँदैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

रियल हाल २४ खेलपछि ५३ अंक बनाएर लिगको शीर्ष स्थानमा छ । रियल बार्सिलोनाभन्दा १ अंकले अघि छ । यता, आज रियललाई आफ्नो घरमा स्वागत गर्न लागेको लेभान्टे २४ खेलपछि २९ अंक बनाएर १३औं स्थानमा रहेको छ ।

यसै साता युरोपियन च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध खेल्ने तयारीमा रहेको रियलका लागि आजको खेल निकै महत्त्वपूर्ण हुनेछ । रियल आजको खेलमा शानदार जित निकालेर सिटीसँगको खेलका लागि आफू तयार रहेको सन्देश दिन चाहन्छ ।

रियलले आफ्नो खेल खेल्नुअघि आजै राति दोस्रो स्थानको बार्सिलोनाले आफ्नो खेल एइबारसँग खेल्दै छ । यदि सो खेलमा बार्सिलोना हारे वा बराबरीमा रोकिए त्यसको फाइदा रियललाई पुग्नेछ । र, उसले आफ्नो खेल जितेर बार्सिलोनासँग अंक दूरी बढाउन सक्नेछ ।

तर, बार्सिलोनाले आफ्नो खेल जितेको अवस्थामा राति रियलले आफ्नो खेल जिते पनि रियल शीार्ष स्थान कायमै रहनेछ । तसर्थ, अंक तालिकामा शीर्ष स्थान कायमै राख्न र उपाधि होडमा अग्रता कायमै राख्न पनि रियलका लागि आजको खेलको ३ अंक निकै महत्त्वपूर्ण छ ।

आज अवे मैदानमा हुने यस खेलका लागि रियलको टोलीमा प्रशिक्षक जिदानले केही प्रमुख खेलाडीलाई विश्राम दिएका छन् । आक्रमणपंक्तिमा इडेन हाजार्ड अघिल्लो खेलबाटै टोलीमा फर्किएकाले यस खेलको टोलीमा ग्यारेथ बेल र लुका जोभिक छैनन् । त्यस्तै, भिनिसिसय जुनियर टोलीमा रहँदा युवा खेलाडी रोड्रिगोलाई पनि आराम दिइएको छ ।

मिडफिल्डमा भने जिदानले सबै प्रमुख खेलाडी समेटेका छन् । टोनी क्रुस, लुका मोड्रिक, कासेमिरो, फेडे भाल्भर्डे, हामेस रोड्रिग्वेज र इस्कोसहित मिडफिल्डमा ६ जना खेलाडी छन् । यता, रक्षापंक्तिमा कप्तान सर्जियो रामोससहितका खेलाडी छन् ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार ११:१२
Loading...