ला लिगा : बार्सिलोना आज एइबारसँग भिड्दै, मेस्सीले टार्लान् गोलको खडेरी ?

काठमाडौं, फागुन १०
स्पेनिस ला लिगा फुटबलमा आज २५औं साताअन्तर्गत एकै दिन चार खेल हुँदैछन् । आज हुने खेलमध्ये बार्सिलोना र एइबारको खेललाई निकै महत्त्वसाथ हेरिएको छ । युरोपियन च्याम्पियन्स लिगमा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेल इटालियन क्लब नापोलीसँग खेल्नुअघि बार्सिलोना लिग खेल एबारसँग खेल्दैछ ।

यो खेलका लागि हाल लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले १६औं स्थानमा रहेको एइबारलाई आफ्नो घरेलु मैदान क्याम्प नोउमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ । हाल लिगमा बार्सिलोना ५२ अंकसहित दोस्रो स्थानमा छ भने एइबार २४ अंकसहित १६औं स्थानमा छ ।

आफ्नो घरमा हुने यो खेलमा स्पष्ट जित निकाल्न सके बार्सिलोना रियल मड्रिडले आजै राति आफ्नो खेल नखेल्दासम्म लिगको शीर्ष स्थानमा चढ्नेछ । यदि बार्सिलोनाले आफ्नो खेल जिते र राति रियल हारे वा बराबरीमा रोकिए शीर्ष स्थानमा बार्सिलोना नै रहनेछ । हाल रियल र बार्सिलोनाबीच मात्रै १ अंकको फरक छ ।

यता, पछिल्लो समय घरेलु लिगमा गोलको खडेरीबाट गुज्रिरहेका कप्तान लिओनल मेस्सीका लागि घरेलु मैदानामा हुने आजको खल महत्त्वपूर्ण हुनेछ । मेस्सीले ला लिगाका पछिल्ला चार खेलमा गोल पनि गरेका छैन् । तर, उनले टिमले गरेका पछिल्ला ६ गोलमा लगातार असिस्ट गरेका छन् ।

आज क्याम्प नोउमा तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध उत्रिँदा बार्सिलोना सहज जितको प्रयासमा मात्रै हुनेछैन, मेस्सी पनि आफ्नो गोलको खडेरी यसै खेलबाट अन्त्य गर्ने प्रयासमा हुनेछन् । जारी सिजन उनले ला लिगामा १९ खेलबाट १४ गोल गर्दै १२ गोलमा असिस्ट गरेका छन् । उनी ला लिगाको सर्वाधिक गोलकर्ता र असिस्टकर्ता दुवै हुन् ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार १०:०९
Loading...