सिरी ए : आज एसपिएलसँग भिड्दै युभेन्टस, रोनाल्डो टोलीमा फर्किए

काठमाडौं, फागुन १०
इटालियन सिरी ए लिग फुटबलमा आज एक महत्त्वपूर्ण खेल हुँदैछ । जहाँ लिग लिडर युभेन्टस लिगको २५औं खेलमा एसपिएलसँग उसकै घरमा खेल्दै छ । खेल नेपाली समयअनुसार राति १०ः४५ बजेबाट सुरु हुनेछ ।

युभेन्टस हाल २४ खेलपछि ५७ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । ऊ दोस्रो स्थानको लाजियोभन्दा १ अंकले अघि छ । यदि आज अवे मैदानमा हुने यो खेल जिते युभेन्टसले लाजियोसँग ४ अंकको अग्रता बनाउनेछ, लाजियोले आफ्नो २५औं खेल नखेल्दासम्म ।

आज अवे मैदानमा हुने यस खेलका लागि टोलीका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डो टोलीमा फर्किएका छन् । यसअघि ब्रेसियाविरुद्धको खेलमा उनलाई आराम दिइएको थियो । युरोपियन च्याम्पियन्स लिगमा अन्तिम १६ को खेलअघि हुने अन्तिम लिग खेलमा ३५ वर्षीय रोनाल्डो टोलीमा फर्किएका हुन् । आजको खेलमा उनी टोलीका लागि प्रमुख पक्ष हुनेछन् ।

आज युभेन्टसको टोलीमा रोनाल्डोसँगै पाउलो डिबाला, जुआन काउडराडो, फेडरिको बर्नान्डेचीलगायत खेलाडी आक्रमण लाइनमा हुनेछन् । गोन्जालो हिगुइन चोटका कारण यस खेलमा हुनेछैनन् ।

लिगमा आज हुने पहिलो खेलमा राति ७ः४५ बजेबाट बोलोग्ना र उडिनेस खेल्दा राति १ः३० बजेबाट फियोरेन्टिना र एसी मिलानको खेल पनि हुनेछ ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार ०९:३७
Loading...