सिरी ए : ब्रेसियालाई हराउँदै नापोली छैटौं स्थानमा चढ्यो

काठमाडौं, फागुन १०
जारी सिजन घरेलु लिग सिरी ए फुटबलमा कमजोर अवस्थामा रहेको नापोली लिगको छैटौं स्थानमा चढेको छ । गत राति भएको लिगको २५औं खेलमा नापोलीले ब्रेसियालाई अवे मैदानमा १–२ ले हराउँदै महत्त्वपूर्ण ३ अंक जोड्न सफल भयो ।

ब्रेसियाको घरेलु मैदानमा भएको खेलमा नापोली खेलको २६औं मिनेटमा पछि परेको थियो । कर्नर किकमा जोन च्यानकेलोरले शानदार गोल गरेपछि ब्रेसियाले खेलमा १–० को अग्रता लिएको थियो ।

तर, दोस्रो हाफ सुरु हुनासाथ पाहुना नापोली खेलमा फर्कियो । ४९औं मिनेटमा नापोलीले पेनाल्टी पायो । बक्समा ब्रेसियाका खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले नापोलीलाई भिएआरबाट पेनाल्टीको मौका दिएका थिए । जसमा लोरेन्जो इन्साइनले कुनै गल्ती नगरी गोल गर्दै खेल १–१ को बराबरी बनाए ।

त्यससको ६ मिनेटमै नापोलीले दोस्रो गोल हान्यो । ५४औं मिनेटमा फाबिएन रुइज पेनाले क्रस पासमा बक्स बाहिरबाट शानदार गोल गरे । त्यसपछि खेलभरि थप गोल नभएपछि खेल नापोलीले १–२ ले जित्यो ।

अब यो जितसँगै नापोलीले २५ खेलबाट ३६ अंक जोडेर लिगको छैटौं स्थानमा चढेको छ । नापोलीका लागि च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेनिस क्लब बार्सिलोनासँग पहिलो लेगको खेल खेल्नुअघिको यो जितलाई महत्त्वपूर्ण मानिएको छ । पराजित ब्रेसिया भने १६ अंकसहित १९औं स्थानमा रहेको छ ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार ०८:५१
Loading...