‘बार्सिलोनालाई च्याम्पियन्स लिग जित्न नेइमार चाहिन्छ’

एजेन्सी, फागुन ९
सन् २०१५ मा ट्रिबेल उपाधि जितेयता स्पेनिस क्लब बार्सिलोनाले पुनः युरोपियन च्याम्पियन्स लिग जित्न सकेको छैन । पछिल्ला चार सिजन बार्सिलोना एकपटक सेमिफाइनलसम्म पुग्दा तीनपटक अन्तिम आठबाटै आउट भएको छ । जारी सिजन बार्सिलोना अन्तिम १६ मा पुगेको छ । र, उसले यसै साता इटालियन क्लब नापोलीसँग खेल्दैछ ।

यसैबीच, बार्सिलोनाका लिजेन्ड खेलाडी रिभाल्डोले हालै एक अन्तर्वार्तामा बोल्दै बार्सिलोनालाई युरोपियन उपाधिको शान फर्काउन पूर्वखेलाडी नेइमार चाहिने बताएका छन् । नेइमारबिना क्लबले तत्कालै च्याम्पियन्स लिग जित्न नसक्ने उनले बताए ।

‘बार्सिलोनासँग अहिले पनि एक उत्कृष्ट टिम छ । उनीहरूसँग विश्वकै सर्वोत्कृष्ट खेलाडी छन् । तर, युरोपियन प्रतियोगितामा टिम लगातार खराब नतिजा भोग्दै आएको छ । यो बार्सिलोनाजस्तो टिमका लागि सुहाउने कुरा होइन । उनीहरू फाइनल नपुगेकै चार वर्ष भयो,’ रिभाल्डोले भनेका छन्, ‘म बार्सिलोनाको खास शुभेच्छुक हुँ । त्यसैले मलाई लाग्छ, यदि बार्सिलोना फेरि च्याम्पियन्स लिग जित्न चाहन्छ भने नेइमार फर्काउनु आवश्यक छ ।’

रिभाल्डोले बार्सिलोनालाई निकट भविष्यमै कप्तान मेस्सीको उत्तराधिकारी चाहिने भएकाले पनि नेइमार सबैभन्दा उचित विकल्प हुने बताए । ‘अहिले बजारमा थुप्रै राम्रा खेलाडी छन् । क्षमतावान् युवा खेलाडी आइरहेका छन् । तर, हालको अवस्थामा बार्सिलोनामा यदि कसैले मेस्सीको स्थान लिन सक्छ भने उनी नेइमार मात्रै हुन्, जसले बार्सिलोना र त्यहाँको ड्रेसिङ रुमलाई राम्रोसँग बुझेको छ ।’

रिभाल्डोले नेइमार फर्काउन मेस्सीले मात्रै चाहेर नहुने बताए । ‘मलाई थाहा छ, मेस्सी नेइमार फर्किउन् भन्ने चाहन्छन् । धेरैजसो खेलाडी यही चाहन्छन् । तर, यो खेलाडीले चाहेर हुँदैन । क्लब प्रशासनले आवश्य ठान्नुपर्छ,’ रिभाल्डोले भने, ‘मलाई अझै पनि लाग्दैन, समरमा नेइमार बार्सिलोनाको मुख्य प्राथमिकतामा पर्नेछन् । यो सिजन कसरी सकिन्छ भन्ने कुराले नेइमारको स्पेन फिर्ती निर्भर गर्नेछ ।’

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार २१:४०
Loading...