‘पिएसजी किलर’ हल्यान्ड उत्कृष्ट खेलाडी घोषित

एजेन्सी, फागुन ९
जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार फरवार्ड अर्लिङ हल्यान्ड युइएफए च्याम्पियन्स लिग फुटबलमा साताको उत्कृष्ट खेलाडी घोषित भएका छन् । मंगलबार राति अन्तिम १६ मा पहिलो लेगको खेलमा फ्रेन्च क्लब पिएसजीलाई २–१ ले हराउँदा २ गोल गरेका हल्यान्डलाई फ्यानहरूको भोटका आधारमा युइएफएले ‘युसिएल प्लेयर अफ् द विक’ घोषित गरेको छ ।

डर्टमुन्डको घरमा भएको सो खेलमा १९ वर्षीय नर्वेजियन युवा फरवार्डले दुई शानदार गोल गरेका थिए । उनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । उनले डर्टमुन्डका लागि च्याम्पियन्स लिगमा खेलेको डेब्यु खेलमै २ गोल गरेपछि फ्यानहरूले अनलाइन भोटिङबाट उनलाई उत्कृष्ट खेलाडीका रूपमा छानेका हुन् ।

पिएसजीविरुद्ध २ गोल गरेसँगै हल्यान्डले जारी सिजन च्याम्पियन्स लिगमा कूल १० गोल गरेका छन् । उनले पूर्वक्लब रेड बुलका लागि गरेको ८ गोलसँगै कूल १० गोल पूरा भएको हो । जारी सिजन च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्तामा उनीसँगै बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की छन् । दुवैका नाममा समान १०–१० गोल छ ।

यसै जनवरी विन्डोमा डर्टमुन्डमा अनुबन्ध भएका हल्यान्डले पूर्वक्लब रेड बुल र डर्टमुन्डका लागि गरी कूल ३९ गोल गरेका छन् । हल्यान्डले डर्टमुन्डका लागि मात्रै ११ गोल गरेका छन् ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार २०:३०
Loading...