‘मेस्सी घाइते बाघको अवस्थामा छन्, कोपा अमेरिकासम्म कुरौं’

एजेन्सी, चैत १९
क्लब फुटबलमा सबैखाले सफलता बटुलेका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले हालसम्म राष्ट्रिय टोलीबाट एउटा पनि उपाधि जित्न सकेका छैनन् । मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले सन् २०१४ मा फिफा विश्वकपको फाइनल, २०१५ र २०१६ मा लगातार कोपा अमेरिकाको फाइनल खेले पनि मेस्सी लगातार असफल भए । २०१६ मा आफैंले निर्णायक पेनाल्टी मिस गरेपछि मेस्सीले विचलित बनेर सन्यास नै लिएका थिए ।

गत वर्ष पनि मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका खेल्यो । तर, सेमिफाइनलभन्दा अघि बढ्न सकेन । सो प्रतियोगिताका कारण मेस्सी आलोचित बने । करिअरमा दोस्रोपटक रातो कार्ड पनि खाए । अन्तर्राष्ट्रिय फुटबलमा ३ महिनाको प्रतिबन्ध झेले । त्योभन्दा बढी देशलाई उपाधि जिताउन नसकेको भनेर उनको चर्को आलोचना भयो । एक वर्षपछि राष्ट्रिय टिममा फर्किए पनि मेस्सी फेरि पनि निराश बने ।

यसैबीच, बार्सिलोना तथा ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले वर्ष २०२१ मा मेस्सीले देशबाट उपाधि जित्न सक्ने बताएका छन् । रिभाल्डोले मेस्सी अर्जेन्टिनी टोलीमा लगातारको असफलता, निराशा र चर्को आलोचनाका कारण ‘घाइते बाघ’को अवस्थामा रहेको भन्दै यस वर्ष उनले त्यो सबै निराशालाई शक्तिमा बदल्ने विश्वास आफूले लिएको बताए ।

हालै एक अन्तर्वार्तामा कुरा गर्दै रिभाल्डोले मेस्सीका आलोचकहरूलाई अर्को वर्षको कोपा अमेरिकासम्म पर्खेर हेर्न अनुरोध गरेका छन् । ‘यो मेरो नितान्त व्यक्तिगत धारणा हो । मेस्सीले २०१४ मै विश्वकप जित्नुपर्ने थियो । वा, २०१५ र २०१६ मै कोपा अमेरिका जित्नुपर्ने थियो । तर, उनी र उनको टिमलाई सायद भाग्यले साथ दिएन,’ रिभाल्डोले भनेका छन्, ‘बार्सिलोनाका लागि सबैथोक जितेका मेस्सीले राष्ट्रिय टोलीका लागि जित्न नसक्दा आलोचना हुन्छ, यो त एकदमै सामान्य कुरा हो । मलाई यसमा आश्चार्य लाग्दैन ।’

रिभाल्डोले अघि थपे, ‘उपाधि जित्न सकिँदैन भने मेस्सीले कतिपटक ठूला प्रतियोगिताको फाइनल खेले भन्ने कुराको कुनै मूल्य हुँदैन । किनभने, इतिहास धेरैपटक फाइनल खेल्नेको लेखिँदैन, एकपटक जित्नेको लेखिन्छ । मेस्सीप्रति मेरो सधैं सद्भाव र सहानुभूति छ ।’

रिभाल्डोले मेस्सीप्रति सद्भाव राख्दै उनले अर्जेन्टिनाबाट कुनै न कुनै उपाधि जितून् भन्ने आफूले सधैं चाहेको बताए । ‘आज मात्रै हैन, उनले पहिलै अर्जेन्टिनाबाट केही जितू्न् भन्ने चाहन्थें । किनभने, मेस्सीजस्ता खेलाडीले देशका लागि उपाधि जित्न नसक्नुको अर्को मूल्य हुँदैन । यो कुरा उनलाई धेरै राम्रोसँग थाहा छ ।’

रिभाल्डोले मेस्सी अहिले चर्को दबाबमा रहेको र मानसिक रूपमा ‘घाइते बाघ’को अवस्थामा रहेकाले २०२१ को कोपा अमेरिकामा उनले सफलता पाउन सक्ने बताए । ‘मेस्सी अहिले आफूभित्र ठूलो दबाबमा छन् । उनीसँग अब पर्खेर खेल्न र जित्न समय छैन । उनी यतिबेला मानसिक रूपमा घाइते बाघको अवस्थामा छन् । मलाई लाग्छ, अर्जेन्टिनाबाट केही जित्न उनका लागि यस वर्षको कोपा अमेरिका अन्तिम अवसर हुनेछ,’ रिभाल्डोले भने, ‘कोपा अमेरिकासम्म पर्खेर हेरौं ।’

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार १९:४८
Loading...