बार्सिलोनाका खेल निर्देशकद्वारा फेरि मेस्सीको आलोचना !

एजेन्सी, फागुन ९
स्पेनिस बार्सिलोनाका खेल निर्देशक इरिक अबिडाल र कप्तान लिओनल मेस्सीबीच पछिल्लो समय केही टकराव देखियो । अबिडालले खेलाडीको आलोचना गरेको विषयमा अबिडाल र मेस्सी सार्वजनिक रूपमै टिकाटिप्पणीमा उत्रिएपछि सो विषयले थप चर्चा पाएको थियो ।

केही समयअघि अबिडालले स्पेनिस पत्रकिा ‘स्पोर्ट’सँग कुरा गर्दै ‘पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा केही खेलाडीले महेनत नगरेको’ भन्दै अन्तर्वार्ता दिएका थिए । त्यसको भोलिपल्टै कप्तान मेस्सीले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् अबिडालको भनाइको खण्डन गर्दै खेल निर्देशकप्रति खनिएका थिए ।

मेस्सीले ‘हावाका भरमा नबोल्न भन्दै मेहनत गर्ने खेलाडीको नाम दिन’ चुनौती दिएपछि सो विषय झन् चर्चामा आयो । सोही विषयलाई लिएर बार्सिलोनामा खैलाबेला भयो । मेस्सीले भविष्यमा क्लब छाड्न सक्नेसम्मको चर्चा पनि भयो । तर, त्यसपछि बार्सिलोनाका अध्यक्षले मध्यस्थता गरेर सो विवादलाई मत्थर पारेका थिए । तर, सो विषय फेरि एकपटक मिडियामा आएको छ ।

दुई दिनअघि कप्तान मेस्सीले ‘मुन्डो डेपोर्टिभो’ सँग कुरा गर्दै अबिडालको विषयमा बोलेका थिए । उनले खेल निर्देशकले भनेजसरी ‘आफू र आफ्ना खेलाडीमाथि आक्रमण गर्ने छुट कसैलाई नदिने’ बताएका थिए । उनले भनेका थिए, ‘म आफू र मेरो टिममाथि यसरी आक्रमण गर्ने छुट कसैलाई दिन सक्दिनँ । यो ड्रेसिङ रुमका लागि राम्रो होइन ।’

मेस्सीले यसो भनेको भोलिपल्ट फेरि अबिडालले मिडियासँग कुराकानीक्रममा मेस्सीको भनाइबारे धारणा राखेका छन् । उनले मेस्सीको नाम नलिई क्लबभित्रका कुरा आन्तरिक रूपमै मिलाउन सकिने भए पनि ‘मिडियाबाजी गरेर’ भित्रका कुरा बाहिर लगेको भन्दै असन्तुष्टि जनाएका छन् । साथै, उनले अब यस विषयमा कुरा गर्नुपर्ने आवश्यकता नरहेको पनि बताए ।

बिहीबार बार्सिलोनाले नयाँ खेलाडी मार्टिन ब्रेथवेटलाई क्याम्प नोउमा सार्वजनिक गरेपछि मिडियासामु क्लबका अध्यक्षसँगै प्रस्तुत भएका अबिडालले भने, ‘यस्ता कुरा आन्तरिक रूपमै समाधान गर्न सकिने थियो । मिडियामा लगिरहनु आवश्यक थिएन । टिमभित्रका कुरा बाहिर सार्वजनिक गर्नु राम्रो होइन ।’

तर, अबिडालले मेस्सीसँगको टकरावबाट आफूले केही पाठ सिकेको पनि बताए । ‘यी दिनमा मैले केही पाठ सिकें, सायद उनले (मेस्सी) ले पनि । यी कुरा सकिए । अब कुरा गर्नु आवश्यक छैन ।’

सोहीक्रममा अबिडालले टिमलाई सबै हिसाबले सघाउन आफू र क्लब तयार रहेको बताए । ‘म मात्रै हैन, अध्यक्ष र सिंगो क्लब टिमलाई सबै तहरले सघाउन तयार छ । हामीले आफ्नो काम गरिरहेका छौं,’ अबिडालले भने ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार १३:४६
Loading...