नेइमारले रियल मड्रिडबाट सबै कुरा जित्न सक्छन् : कासेमिरो

एजेन्सी, फागुन ९
स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन मिडफिल्डर कासेमिरोले राष्ट्रिय टिमका आफ्ना सहकर्मी नेइमार आफ्नो क्लबमा अनुबन्ध हुन सक्ने आशा व्यक्त गरेका छन् । ब्राजिलियन मिडियासँग कुरा गर्दै कासेमिरोले फ्रेन्च क्लब पिएसजीका नेइमार रियल आए उनले करिअरमा सबैखाले सफलता पाउने बताए ।

नेइमारलाई आगामी समर सिजनमा पूर्वक्लब बार्सिलोनाले भित्र्याउन चाहेको छ । रियलले भने पिएसजीकै युवा स्टार केलियन एमबाप्पे भित्र्याउन पहिल्यैबाट चाहेको छ । तर, कासेमिरो भने नेइमार अझै पनि रियल आउन सक्ने सम्भावना रहेको बताउँछन् ।

‘नेइमार रियल मड्रिड आउन् भन्ने म चाहन्छु । र, यो सम्भावना अहिले पनि छ । मैले उनलाई भेट्दा जहिल्यै यो भन्ने गरेको छु । उनी एक ठूला खेलाडी हुन्,’ कासेमिरोले भने, ‘पछिल्ला वर्ष उनको करिअर अस्थिर छ, उनले अब सही निर्णय लिने समय आएको छ ।’

कासेमिरोले यदि नेइमार रियलमा अनुबन्ध भए उनले सबैखाले सफलता पाउने बताए । ‘नेइमार बालोन डि‘ओर जित्न सक्षम खेलाडी हुन् । यदि उनी यहाँ आए त्यो सम्भव छ,’ कासेमिरोले भने, ‘त्यत्ति मात्रै हैन, उनले यहाँबाट अन्य सबै कुरा जित्न सक्छन्, जुन एक उत्कृष्ट खेलाडीले जित्न सक्छ ।’

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार १०:२१
Loading...