एथ्लेटिको मड्रिडलाई भान डाइकको ‘कडा डाइलग’ !

एजेन्सी, फागुन ८
दुई दिनअघि युरोपियन च्याम्पियन्स लिग फुटबलमा साबिक विजेता लिभरपुल स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग अन्तिम १६ को पहिलो लेगको खेलमा १–० ले पराजित भयो । एथ्लेटिकोको घरमा पहिलो लेग खेल्न पुगेको लिभरपुलले हार टार्न सकेन । खेलको चौथो मिनेटमै खाएको गोल नै साबिक विजेतामाथि जित निकाल्न एथ्लेटिकोलाई पर्याप्त बन्यो ।

सो खेलमा कर्नर किकबाट आएको बलमा लिभरपुलको रक्षापंक्तिको फाइदा उठाउँदै साउलले सहजै गोल गरेका थिए । सो खेल हारेर इंग्ल्यान्ड फर्किएपछि लिभरपुलका प्रमुख डिफेन्डर भर्जिल भान डाइकले एथ्लेटिकोलाई कडा चुनौती दिएका छन् । उनले अब असली खेल एनफिल्डमा हुने भन्दै एथ्लेटिकोलाई आफ्नो घरमा राम्रोसँग हराउने बताए ।

‘मड्रिडमा हामीबाट सुरुमै गल्ती भयो । त्यही गल्ती उनीहरूका लागि खेलभरिको एक मात्रै अवसर बन्यो, जसमा गोल पनि गरे । त्यो गोलपछि उनीहरूले एउटा पनि अवसर बनाउन सकेनन्, हामीले उनीहरूलाई रोकिराख्न सक्यौं,’ भान डाइकले भने, ‘हामीले खराब खेलेर हारेका होइनौं, गल्तीले हारेका थियौं । तर, फुटबलमा जसरी हारे पनि हार्नु भनेको हार्नु नै हो ।’

भान डाइकले एनफिल्डमा लिभरपुलले असली फुटबल खेल्ने बताए । ‘जब उनीहरू दोस्रो लेग खेल्न एनफिल्ड आउनेछन्, हामी त्यहाँ असली फुटबल खेल्नेछौं,’ भान डाइकले भने ।

प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार २१:३४
Loading...