मेस्सीको ताजा अन्तर्वार्ता : यस्ता छन् १८ महत्त्वपूर्ण भनाइहरू

काठमाडौं, फागुन ८
स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले हालै एक अन्तर्वार्तामा बोल्दै जारी सिजन क्लबको अवस्था, ठूला प्रतियोगितामा टिमको दाबेदारी, व्यक्तिगत योजनालगायत विषयमा थुप्रै धारणा राखेका छन् ।

बार्सिलोना निकट भनेर चिनिने स्पेनिस पत्रिका ‘मुन्डो डेपोर्टिभो’ पत्रिकासँग विशेष कुरा गर्दै मेस्सीले यो सिजन ला लिगा बार्सिलोनाका लागि अन्तिम समयमम्म खुला हुने बताउँदै च्याम्पियन्स लिगमा हालको अवस्थाबाट प्रतिस्पर्धा गर्न कठिन रहेको बताएका छन् । मेस्सीले जारी सिजन च्याम्पियन्स लिग जित्न सक्ने टिमबारे पनि अनुमान गरेका छन् ।

त्यस्तै, मेस्सीले बार्सिलोनामा आफ्नो भविष्यबारे पनि बोलेका छन् । उनले बाहिर जे–जे चर्चा भए पनि आफूलाई ठीक लाग्दासमम आफू बार्सिलोनामै रहने मात्रै बताएका छैनन्, बार्सिलोना सहर आफ्नो घरजस्तै रहेको पनि बताएका छन् । मेस्सीको अन्तर्वार्ताबाट लिइएका १८ महत्त्वपूर्ण भनाइ यस्ता छन्–

१) हाम्रा लागि यो सिजन न राम्रो, न खराब अवस्थामा छ । खराब यस अर्थमा छैन कि, हामी अझै पनि ला लिगा च्याम्पियन्स लिगको उपाधि होडमै छौं । राम्रो यस अर्थमा छैन कि, हामीले सुपर कप र कोपा डेल रे हारिसकेका छौं । हामी ला लिगाको शीर्ष स्थानमा छैनौं । हाम्रा केही प्रमुख खेलाडी गम्भीर घाइते छन् । एकप्रकारले भन्ने हो भने टिम कठिन अवस्थामा छ ।

२) हाम्रा लागि च्याम्पियन्स लिग वा ला लिगामधये कुन प्रतियोगिता जित्न चाहन्छौं भन्ने प्रश्न होइन । हामी त दुवै जित्न चाहन्छौं । हाम्रा लागि च्याम्पियन्स लिग जति महत्त्वपूर्ण छ, ला लिगा पनि उत्तिकै महत्त्वपूर्ण छ ।

३) नेइमार विश्वका उत्कृष्टमध्येका एक खेलाडी हुन् । उनी अहिले पिएसजीका खेलाडी हुन् । तर, म चाहन्छु– उनी यहाँ फर्केर आउन् । उनले यहाँबाट ठूला सफलता पाउन सक्छन् । यो म साँच्चै चाहन्छु ।

४) क्रिस्टियानो रोनाल्डो एक सिकारी फरवार्ड हुन् । जब उनी मैदानमा गोल गर्छन्, अनि मात्रै यो सुहाउँछ । किनभने, उनी शानदार गोलकर्ता खेलाडी हुन् । यो उनको तथ्यांकले आफैं बोल्छ । खुसी लाग्छ– उनी यो उमेरमा पनि धेरै राम्रो गरिरहेका छन् । र, उनी अझै ठूला प्रतियोगिता जित्न दृढ छन् । उनी यसमा सफल हुने सम्भावना मैले देखेको छु ।

५) म छाड्नका लागि बार्सिलोना छाड्न चाहन्नँ । मेरो सोच भनेको यहीं रहनु हो । म मेरो जीवनमा अर्जेन्टिनामा भन्दा बढी बार्सिलोनामा बसेको छु । मेरा लागि बार्सिलोना सहर घर हो । म यहाँ निकै खुसी छु ।

६) यो निकै रोचक छ । मेरो छोरा थियागो रोनाल्डोलाई मन पराउँछन् । रोनाल्डोले जित्दा र गोल गर्दा उनी खुसी हुन्छन् । उनी नेइमार, एमबाप्पे स्वारेज, ग्रीजम्यान र भिडाललाई पनि एकदमै मन पराउँछन् ।

७) (खेल निर्देशक इरिक अबिडालले खेलाडीको आलोचना गरेको विषयमा) म मेरो कुरा र व्यवहारमा स्पष्ट छु । म ड्रेसिङ रुमप्रति उदार छु । म उनलाई (अबिडाल) यसरी म माथि वा मेरो टिममाथि आक्रमण गर्न छुट दिन सक्दिनँ । यो ड्रेसिङ रुमका लागि राम्रो चिज होइन ।

८) क्विके सेटिन निकै मिलानसार र कुरा गर्न रुचाउने प्रशिक्षक हुन् । उनी सबै खेलाडीसँग संवाद गरिरहेका हुन्छन्, मजाक गरिरहेका हुन्छन् । उनी अहिले नयाँ छन् । उनको योजना र विचारलाई खेलाडीले बुझ्न केही समय लाग्न सक्छ । तर, मलाई विश्वास छ– उनले टिमलाई सही तरिकाले नेतृत्व दिनेछन्

९) लौटारो मार्टिनेज प्रशस्तै क्षमता भएका युवा खेलाडी हुन् । उनी अर्जेन्टिनाबाट मेरा सहकर्मी हुन् । उनी युवा छन् र कौशलपूर्ण छन् । मैले उनमा नेइमार र स्वारेजसँग मिल्दोजुल्दो क्षमता देखेको छु । उनी एक ठूला स्टार हुने बाटोमा छन् ।

१०) (हालै च्याम्पियन्स लिगको अन्तिम १६ मा एथ्लेटिको मड्रिडले लिभरपुललाई हराएको विषयमा) – एथ्लेटिकोले लिभरपुललाई हराउँद म आश्चार्यमा परिनँ । किनभने, एथ्लेटिको पटक–पटक च्यापियन्स लिगको फाइनल खेलेको टिम हो । र, पूर्व ला लिगा च्याम्पियन हो । उनीहरूसँग एक उत्कृष्ट रक्षापंक्तिसहितको टिम छ । उनीहरू अन्तिम आठमा जान सक्छन् । उनीहरूलाई शुभकामना भन्न चाहन्छु ।

११) (जारी सिजन च्याम्पियन्स लिगको विषयमा) इमानदारीसाथ भन्नुपर्दा बार्सिलोना अहिले जुन अवस्थामा छ, च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न यो पर्याप्त होइन । मेरो विचारमा यो सिजन लिभरपुल, युभेन्टस, पिएसजी र रियल मड्रिड उपाधिका लागि प्रमुख दाबेदार हुन् ।

१२) च्याम्पियन्स लिगमा अन्तिम १६ मा भएका सबै टिम उत्कृष्ट छन् । उनीहरू विपक्षीका लागि निकै खतरनाक र चुनौतीपूर्ण छन् । डर्टमुन्डले पिएसजीलाई हरायो, एथ्लेटिकोले लिभरपुललाई हरायो । एट्लान्टाले निकै राम्रो गरिरहेको छ । यहाँ सबै जित्न आएका छन् । उनीहरूसँग ठूलो मेहनत र संकल्प छ । यो च्याम्पियन्स लिग हो । र, यहाँ जसले जसलाई पनि हराउन सक्छन् ।

१३) गत वर्षहरूमा मैले शारीरिक रूपमा आफूलाई निकै राम्रो महसुस गरेको थिएँ । बढ्दो उमेर सबै खेलाडीको हकमा प्राकृतिक नियम हो । अहिले म ३३ वर्ष नजिक छु । अहिले नै केही भन्न सक्दिनँ । तर, आगामी दिनमा मैले कस्तो अनुभूत गर्छु भन्नेमा भर पर्छ । के थाहा म ४० वर्षसम्म खेल्न सक्छु कि !

१४) मानिसहरू अहिले मेरो गोल संख्या गनिरहेका छन् । र, चिन्ता गरिरहेका छन् । यो सामान्य हुन्छ । तर, सिजनको सुरुमा म ठीक थिइनँ । मेरा लागि व्यक्तिगत गोलले ठूलो अर्थ राख्दैन । म टिमको जितमा केन्द्रित छु । हरेक खेलमा टिमलाई जिताउन ध्यान दिन्छु । गोल संख्या गौण कुरा हुन् । त्यसै पनि एक खेलाडीले सधैं २५ वर्षको उमेरमा जस्तो गोल गरिरहन सक्दैन । बुढ्यौलीलाई कसैले रोक्न सक्दैन । न म, न अरू कोही ।

१५) यो साँचो हो । म अब एक च्याम्पियन्स लिग जित्न चाहन्छु । तर, २०१५ पछि हामी लगातार निराश हुँदै आएका छौं । त्यसमा पनि पल्लिा दुई सिजनका हार हाम्रा लागि क्षमायोग्य थिएनन् । रोममा (रोमासँग) जे भयो, एनफिल्ड (लिभरपुलसँग) मा त्यही भयो । यी दुई सिजनका पराजय हाम्रा लागि निकै पीडादायी हुन् । यो सिजन हामी फरक कथा लेख्न प्रयास गर्नेछौं । हेरौं ।

१६) म सधैं भन्छु– अर्जेन्टिनाबाट म केही न केही जित्न चाहन्छु । तर, ….. म अझै पनि राष्ट्रिय टिमको हिस्सा छु । र, टिमले आवश्यक ठान्दासम्म हुनेछु । म जीवनको अन्तिम समयसम्म देशलाई उपाधि जिताउन संघर्ष गर्नेछु । हामीले पोहोर पनि कोपा अमेरिका खेल्यौं । यस वर्ष फेरि खेल्नेछौं । हेरौं, यसपटक हामी के गर्न सक्छौं । राष्ट्रिय टिममा अहिले प्रशस्तै युवा खेलाडी छन् । टिम विगत वर्षहरूभन्दा राम्रो छ । मलाई लाग्छ, ढिलो–चाँडो हामी उपाधि जित्ने छौं ।

१७ ) यो निकै सुन्दर कुरा हो कि, मसँग ६ वटा बोलोन डिओर छन्, जुन अरुसँग छैन । यो खुसी परिवार, साथीभाइ र समर्थकहरूसँग बाँड्न पाउँदा आनन्द लाग्छ ।

१८) म आत्मसन्तुष्टिका लागि फुटबल खेल्छु, खेलिरहेको छु । परिवार र समर्थकहरूका लागि खेल्छु । जबसम्म म आफूलाई सहज अनुभूत गर्छु, खेलिरहन्छु । सकेसम्म धेरै वर्षसम्म खेल्नु मेरो चाहना हो । तर ….. ।

प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार २०:०५
Loading...