बार्सिलोना फर्किने विषयमा सोध्दा यसरी जंगिए ग्वार्डिओला

एजेन्सी, फागुन ८
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वाडिओला अक्सर मिडियासँग प्रस्तुत हुँदा भद्र र हाँसीजाक शैलीमा देखिन्छन् । तर, गत राति प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामलाई हराएपछि पत्रकार सम्मेलनमा सहभागी भएका उनी निकै अस्वभाविक देखिए ।

यसै साता सिटीमाथि युइएफएले दुई सिजनसम्मका लागि प्रतिबन्ध लगाएको विषय र पूर्वक्लब बार्सिलोना फर्किन सक्ने विषयमा सोधिएको प्रश्नमा ग्वार्डिओला आक्रोशित देखिएका थिए । गत रात सिटीले आफ्नो घरमा वेस्ट ह्यामलाई २–० ले हराएर लिग लिडर लिभरपुलसँगको अंक दूरी २२ मा झारेको थियो ।

‘युइएफएले आफ्नो अनुसन्धानपछि फैसला सुनायो, यो नै अन्तिम हो । तर, हामीसँग निर्णयविरुद्ध अपिल गर्ने सुविधा छ । क्लबले आफ्नो काम गर्नेछ,’ ग्वार्डिओलाले भने, ‘यो क्लब र खेलाडीका लागि निकै पीडादायी कारबाही हो । तर, हामी के नै गर्न सक्छौं र ? कृपया, मलाई यसबारे नसोधिदिनुहोस् ।’

सिटीमाथि च्याम्पियन्स लिगका प्रतिबन्ध लागेसँगै ग्वार्डिओला पूर्वक्लब बार्सिलोना फर्किन सक्ने विषयमा सोधिएको प्रश्नमा उनले रिसाउँदै जवाफ दिए । ‘यसलाई तपाईंहरू ठूलो स्वरमा कुरा नगर्नुहोस् । यदि हामी प्रतिबन्धमा पर्दा उनीहरू (बार्सिलोना) खुसी छन् भने म बार्सिलोनाका अध्यक्षलाई भन्न चाहन्छु– पहिला हामीलाई अपिल गर्न दिनुहोस्,’ ग्वार्डिओलाले भने ।

उनले अघि थपे, ‘हामी यो प्रतिबन्धविरुद्ध अपिल गर्न गइरहेका छौं । र, म यसमा आशावादी छु कि– हामी भविष्यमा च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध खेल्नेछौं । र, उनीहरूलाई हराउने छौं ।’

प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार १२:४४
Loading...