‘रोनाल्डोलाई भेटेर म भन्न चाहन्छु– तपाईं मेरा लागि ठूलो आइडल हुनुहुन्छ’

एजेन्सी, फागुन ८
जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार युवा फरवार्ड अर्लिङ हल्यान्डले आफ्नो जीवनको खास आइडल को हुन् भन्नेबारे बताएका छन् । हालै च्याम्पियन्स लिगमा अन्तिम १६ को खेलमा फ्रेन्च क्लब पिएसजीलाई आफ्नो घरमा २–१ ले हराउनेक्रममा २ गोल गरेपछि मिडियासँग कुरा गर्दै उनले इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड रोनाल्डोलाई आफ्नो आदर्श रहेको बताएका हुन् ।

खेलपछि मिडियासँग कुरा गर्दै १९ वर्षका नर्वेजियन युवा स्टारले आफूले कुनै दिन रोनाल्डोसँग भेटेर कुरा गर्न चाहेको र आफ्ना लागि उनी ठूलो अदर्श रहेको कुरा बताउन मन लागेको बताए । ‘कुनै दिन म क्रिस्टियानो रोनाल्डोसँग भेटेर कुरा गर्न चाहन्छु । र, भन्न चाहन्छु– म फुटबलर हुँ, धन्यवाद ।’

हल्यान्डले अघि थपे, ‘अनि म भन्न चाहन्छु– तपाईं मेरा लागि ठूलो आदर्श हुनुहुन्छ ।’

हल्यान्डले आफू रोनाल्डोकै खेल हेरेर हुर्किएको र अहिले उनकै खेल हेरेर फुटबल सिकिरहेको पनि बताए । ‘म उनकै खेल हेरेर हुर्किए र अहिले उनैको खेल हेरेर फुटबल सिकिरहेको छु । उनी हरेक युवा खेलाडीका लागि आदर्श र ऊर्जाको स्रोत हुन्,’ हल्यान्डले भने ।

डर्टमुन्डका हल्यान्ड मात्रै हैन, यो समयका अर्का युवा स्टार फ्रेन्च क्लब पिएसजीका केलियन एमबापे पनि रोनाल्डोलाई आफ्नो जीवनको आइडल मान्छन् । त्यस्तै, एथ्लेटिको मड्रिडका युवा स्टार जुआओ फेलिक्स पनि रोनाल्डोलाई आदर्श मान्छन् । डर्टमुन्डकै इंग्लिस स्टार जाडोन सान्चो पनि रोनाल्डोबाट उत्प्रेरित खेलाडी हुन् भने इंग्लिस क्लब टोटनह्यामका दक्षिण कोरियन फरवार्ड सन हेङ–मिन त आफूलाई रोनाल्डोको सबैभन्दा ठूलो फ्यान मान्छन् ।

प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार १०:४४
Loading...