च्याम्पियन्स लिग : भ्यालेन्सियामाथि एट्लान्टाको शानदार जित

काठमाडौं, फागुन ८
पहिलोपटक युरोपियन च्याम्पियन्स लिग फुटबलमा नकआउट चरण खेलिरहेको इटालियन क्लब एट्लान्टाले अन्तिम १६ को खेलमा शानदार जित निकालेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको भएको अन्तिम १६ को पहिलो लेगको खेलमा एट्लान्टाले आफ्नो घरेलु मैदानमा स्पेनिस क्लब भ्यालेन्सियालाई ४–१ को फराकिलो हार चखायो ।

यो फराकिलो जितसँगै एट्लान्टाले अन्तिम आठको यात्रा बलियो बनाएको छ । दोस्रो लेगमा अप्रत्यासित हार नभोगे एट्लान्टा अन्तिम आठमा जाने करिब–करिब पक्का छ । एट्लान्टा क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा खेलिरहेको छ ।

आफ्नो घरमा एट्लान्टालाई जिताउन ह्यान्स हाटेबोएरले २ गोल गरेका थिए । खेलको १६औं मिनेटमा ह्यान्सले पहिलो गोल गरेका थिए । त्यसपछि ४२औं मिनेटमा जोसिप लिल्लिसिचले गोल गरेपछि एट्लान्टा पहिलो हाफमा २–० ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफमा पनि एट्लान्टाले २ गोल थप्यो । खेलको ५७औं मिनेटमा रेमो फ्रेउलरले गोल गरेपछि एट्लान्टा ३–० को अवस्थामा पुग्यो । लगत्तै खेलको ६२औं मिनेटमा ह्यान्सले व्यक्तिगत दोस्रो गोल निकै शानदार प्रहारमा गरेपछि एट्लान्टा फराकिलो जिततर्फ अघि बढेको थियो ।

तर, खेलको ६६औं मिनेटमा पाहुना टोली भ्यालेन्सियाका लागि रसियन खेलाडी डेनिस चेरिसेभले बक्स बाहिरबाट लो प्रहारमा सुन्दर गोल गरेपछि खेल ४–१ मा झरेको थियो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल एट्लान्टाले जित्यो ।

प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार ०३:३८
Loading...