प्रिमियर लिग : वेस्ट ह्याममाथि सिटीको सहज जित

काठमाडौं, फागुन ८
अघोषित रूपमा उपाधि होडबाट आउट भइसकेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले प्रिमियर लिगमा सहज जित निकालेको छ । गत राति भएको लिगको २६औं खेलमा सिटीले आफ्नो घरेलु मैदानमा वेस्ट ह्यामलाई २–० ले हरायो ।

आफ्नो घरमा सिटीलाई जिताउन बेल्जियन प्ले मेकर केभिन डे ब्रयाने नायक बने । सिटीका २ वटै गोलमा उनी सहभागी भए । सिटीले खेलको ३०औं मिनेटमा रोड्रीको गोलबाट अग्रता लिएको थियो । सो गोलमा डे ब्रुयानेले पास मिलाएका थिए ।

त्यसपछि सिटीले दोस्रो हाफमा अर्को गोल थप्यो । खेलको ६२औं डे ब्रयाने आफैंले गोल गरेर टिमलाई २–० को अग्रता दिलाए । उनले बर्नान्डो सिल्भाको पासमा गोल गरेका थिए । सो गोलपछि खेलमा थप गोल भएन र खेल सिटीले २–० ले जित्यो ।

अब यो जितसँगै सिटीले २६ खेलबाट ५४ अंक जोडेको छ । ऊ तेस्रो स्थानको लेस्टर सिटीभन्दा ४ अंकले अघि छ भने लिग लिडर लिभरपुलभन्दा स्पष्ट २२ अंकले पछि छ ।

प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार ०३:१५
Loading...