मोराटा भन्छन्– ‘…..च्याम्पियन्स लिगमा युभेन्टससँग खेल्न नपरोस्’

एजेन्सी, फागुन ७
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका फरवार्ड अल्भारो मोराटाले यस सिजन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब युभेन्टस सबैभन्दा बलियो टिम रहेको बताएका छन् । गत राति अन्तिम १६ को पहिलो लेगको खेलमा लिभरपुललाई आफ्नो घरमा १–० ले हराएपछि मिडियासँग कुरा गर्दै स्पेनिस फरवार्डले यस्तो बताएका हुन् ।

मोराटाले लिभरपुललाई होम म्याचमा जिते पनि उनीहरू ज्यादै बलियो टोली रहेको र दोस्रो लेगमा जे पनि हुन सक्ने बताए । ‘यो सिजन च्याम्पियन्स लिगमा सबैभन्दा बलिया टिम छन् भने लिभरपुल र युभेन्टस हुन्,’ मोराटाले भने, ‘हामीले लिभरपुललाई यहाँ हरायौं । तर, उनीहरूको घरमा जे पनि हुन सक्छ । आशा छ– एनफिल्डमा हामीलाई भाग्यले साथ दिनेछ ।’

त्यस्तै, मोराटाले यदि आफूहरू लिभरपुललाई अन्तिम १६ मा हराएर अर्को चरण जान सफल भए अगाडिको खेलमा युभेन्टसविरुद्ध आफूहरूले खेल्न नचाहेको बताए । उनले युभेन्टस विभिन्न अवस्थाबाट खेल्न जित्न सक्ने टिम रहेको बताए । ‘म कामना गर्छु कि– यदि हामी च्याम्पियन्स लिगको अर्को चरण गयौं भने त्यहाँ युभेन्टसविरुद्ध हामीले खेल्न नपरोस् । उनीहरू यो सिजन उपाधि जित्ने सकल्पसाथ खेलिरहेका छन्, उनीहरूलाई हराउन कठिन छ ।’

मोराटाले च्याम्पियन्स लिग जित्न सक्ने प्रमुख दाबेदार टिमहरूको नामसमेत लिए । उनले भने, ‘मेरो विचारमा युभेन्टस र लिभरपुल फाइनल पुग्न सक्ने टिम हुन् । पिएसजी पनि यो दौडमा छ । तर, यो च्याम्पियन्स लिग हो, जे पनि हुन सक्छ ।’

अब एथ्लेटिकोले अन्तिम १६ को दोस्रो लेग मार्च दोस्रो साता लिभरपुलको घरेलु मैदानमा खेल्नेछ । सो खेलमा एथ्लेटिको स्पष्ट गोलअन्तरमा नहारे लिभरपुललाई अन्तिम १६ बाटै आउट गराउनेछ ।

प्रकाशित मिति ७ फाल्गुन २०७६, बुधबार २१:०२
Loading...