‘नापोलीलाई हराउन बार्सिलोनालाई समस्या छैन, तर त्यसपछि …….’

एजेन्सी, फागुन ७
युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोलीको खेल केही दिनपछि हुँदैछ । यस खेललाई निकै महत्त्वसाथ हेरिएको छ । पछिल्ला चार वर्ष लगातार फाइनल नपुगी प्रतियोगिताबाट आउट हुँदै आएको बार्सिलोनालाई यसपटक पनि विगत वर्षझैं उपाधि दोबदार टिमका रूपमा छ ।

तर, अन्तिम १६ मा इटालियन क्लब नापोली प्रतिस्पर्धी पाउँदा बार्सिलोनालाई कम चुनौती छैन । किनभने, बार्सिलोना पछिल्ला चार सिजन च्याम्पियन्स लिगबाट आउट हुँदा दुईपटक इटालीकै क्लब भिलेन बनेका छन् । र, यसपटक पनि उस्तै कथा दोहोरिन सक्ने कतिपयको अनुमान छ ।

तर, इंग्लिस क्लब आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगर भने अन्तिम १६ बाट अघि बढ्न बार्सिलोनालाई कुनै समस्या नहुने तर त्यहाँबाट अघि जान उसलाई ज्यादै कठिन पर्ने बताएका छन् । अहिले नापोली र बार्सिलाना दुवै उत्कृष्ट अवस्थामा नरहेकाले अन्तिम १६ मा बार्सिलोना सफल हुने वेंगरले बताए ।

हाल फुटबल विशेषज्ञका रूपमा काम गरिरहेका वेंगरले लिओनल मेस्सी भएकाले बार्सिलोना सधैं जितको दाबेदार हुने बताए । वेंगर मेस्सीका ठूला फ्यान हुन् । ‘फुटबलमा कमै मात्र अनुमान सही हुन्छन् । यो निकै कठिन कुरा हो । तर, मलाई व्यक्तित रूपमा सोध्नुहुन्छ भने मेरा लागि अन्तिम १६ बाट अघि बढ्ने टिम बार्सिलोना हो,’ वेंगरले भनेका छन्, ‘यस राउन्डमा उनीहरूलाई कुनै समस्या हुँदैन । किनभने, नापोली अहिले राम्रो अवस्थामा छैन । बार्सिलोनाले कमजोर अवस्थामा पनि मेस्सी हुँदाको फाइदा उठाउनेछ ।’

तर, बार्सिलोनालाई अन्तिम आठबाट अघि बढ्न कठिन हुने वेंगर बताउँछन् । ‘यो म इमानदारसाथ भन्छु कि, बार्सिलोना यसपटक पनि उपाधि जित्ने अवस्थामा छैन । यसका विविध कारण छन्,’ वेंगरले थपे, ‘उनीहरूसँग अहिले यस्ता प्रशिक्षक छन्, जोसँग च्याम्पियन्स लिग खेलाएको अनुभव नै छैन । मेरो विचारमा बार्सिलोना क्वार्टरफाइनलभन्दा अघि जान सक्दैन ।’

प्रकाशित मिति ७ फाल्गुन २०७६, बुधबार ११:४७
Loading...