च्याम्पियन्स लिगमा आज एट्लान्टा–भ्यालेन्सिया र टोटनह्याम–लेइपजिग भिड्दै

काठमाडौं, फागुन ७
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ मा आज दुई खेल हुँदैछन् । पहिलो लेगको खेलअन्तर्गत आज दुई खेल हुन लागेका हुन् । गत राति दुई खेल सकिएका छन् ।

आज हुने पहिलो खेलमा इटालियन क्लब एट्लान्टा र स्पेनिस क्लब भ्यालेन्सियाको खेल हुँदैछ । यो खेलका लागि एट्लान्टाले भ्यालेन्सियालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको एट्लान्टा हाल घरेलु लिग सिरी ‘ए’ मा चौथो स्थानमा छ । यता, भ्यालेन्सिया घरेलु लिग ला लिगामा सातौं स्थानमा छ । यो खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

आज हुने अर्को खेलमा इंग्लिस क्लब टोटनह्याम र जर्मन क्लब आरबी लेइपजिगको रोमाञ्चक खेल हुनेछ । यस खेललाई आजको आकर्षणको खेलमा रूपमा हेरिको छ । यो खेलका लागि टोटनह्यामले लेइपजिगलाई आफ्नो घरमा स्वागत गर्नेछ । यो खेल पनि राति १ः४५ बजेबाटै सुरु हुनेछ ।

नयाँ प्रशिक्षक जोसे मोउरिन्होको नेतृत्वमा रहेको टोटनह्याम अहिले घरेलु लिगमा संघर्ष गरिरहेको छ । टप–४ मा स्थान बनाउन संघर्षरत ऊ ताजा अवस्थामा लिगको पाँचौं स्थानमा रहेको छ ।

यता, आज टोटनह्यामको घरमा उत्रिन लागेको लेइपजिग जारी सिजन बुन्डेसलिगाको उपाधि होडमा छ । ऊ हाल लिग लिडर बार्यन म्युनिखभन्दा मात्रै १ अंकले पछि परेर दोस्रो स्थानमा छ ।

आज टोटनह्याम आफ्नो घरमा उत्रिँदा चोटको पिरलोमा हुनेछ । उसका दुई प्रमुख फरवार्ड ह्यारी केन र सन हेङ–मिन दुवै घाइते छन् । केन लामो समयसम्म टोलीबाहिर हुनेछन् भने सन करिब एक महिनासम्म टोलीबाहिर हुनेछन् ।

आज युवा खेलाडीले भरिएको लेइपजिगविरुद्ध टोली उतार्दा टोटनह्यामका प्रशिक्षक मोउरिन्होमाथि चुनौती हुनेछ । घरमा हुने खेलमा उनी सहज जित निकालेर अन्तिम आठको यात्रालाई सहज बनाउने दाउमा छन् ।

प्रकाशित मिति ७ फाल्गुन २०७६, बुधबार १०:५६
Loading...