च्याम्पियन्स लिगमा १९ वर्षका हल्यान्डले एकसाथ बनाए दुई दुर्लभ कीर्तिमान

काठमाडौं, फागुन ७
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका नयाँ युवा फरवार्ड अर्लिङ हल्यान्डले च्याम्पियन्स लिगमा एकसाथ दुई कीर्तिमान बनाएका छन् । गत राति प्रतियोगिताको अन्तिम १६ मा पहिलो लेगको खेलमा आफ्नो घरमा फ्रेन्च क्लब पिएसजीलाई २–१ ले हराउनेक्रममा शानदार प्रदर्शन गर्दै २ गोल गरेपछि उनका नाममा दुई रेकर्ड बनेका हुन् ।

युइएफएको अफिसियल वेबसाइटका अनुसार १९ वर्षका हल्यान्ड अब च्याम्पियन्स लिगको इतिहासमै सबैभन्दा कम उमेरमा १० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघि १९ वर्षकै उमेरमा कुनै पनि खेलाडीले यस प्रतियोगितामा १० गोल गरेका थिएनन् । गत राति डर्टमुन्डको जर्सीमा च्याम्पियन्स लिगमा खेलेको डेब्यु खेलमै २ गोल गरेका उनले पूर्वक्लब (अस्ट्रियन) रेड बुलका लागि यसै सिजन ८ गोल गरेका थिए ।

तर, रेड बुल प्रतियोगिताको अन्तिम ३२ बाटै आउट भएको थियो । सोक्रममा उनले एक ह्याट्रिकसहित ८ गोल गरेका थिए । अब रेड बुल र डर्टमुन्डका लागि गरी दुई क्लबाट उनले यो सिजन च्याम्पियन्स लिगमा गरेको गोल संख्या १० पुगेको छ । यसससँगै उनी जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्कीसँगै यो सिजनको सर्वाधिक गोलकर्ताको सूचीमा पनि चढेका छन् । दुवैका नाममा समान १०–१० गोल छ ।

यता, हल्यान्डका नाममा अर्को पनि कीर्तिमान बनेको छ । उनी च्याम्पियन्स लिगको इतिहासमै सबैभन्दा कम खेलबाट दोहोरो अंकमा (१०) गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । उनले पूर्वक्लब रेड बुल र डर्टमुन्डबाट गरी मात्रै ७ खेलबाट १० गोल पूरा गरेका छन्, जुन यसअघि कुनै पनि खेलाडीले गरेका थिएनन् ।

१९ वर्षका नर्वेजियन फरवार्ड हल्यान्ड अस्ति भर्खर जनवरी विन्डोमा मात्रै रेड बुलबाट डर्टमुन्डमा अनुबन्ध भएका थिए । डर्टमुन्डका लागि उनले हालसम्म ७ खेलबाट ११ गोल गरिसकेका छन् । नयाँ क्लब डर्टमुन्डका लागि च्याम्पियन्स लिगमा एक खेलबाट २ गोल गर्दा बुन्डेसलिगामा ५ खेलबाट ८ गोल गरेका छन् भने जर्मन कपमा एक खेलबाट १ गोल गरेका छन् ।

प्रकाशित मिति ७ फाल्गुन २०७६, बुधबार ०९:२२
Loading...