च्याम्पियन्स लिग : हल्यान्ड चम्किँदा पिएसजी डर्टमुन्डसँग स्तब्ध !

काठमाडौं, फागुन ७
१९ वर्षीय युवा स्टार अर्लिङ हल्यान्ड चम्किँदा जर्मन क्लब बोरुसिया डर्टमुन्डले युरोपियन च्याम्पियन लिग फुटबलमा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा प्रतियोगिताकै एक प्रमुख उपाधि दाबेदार टिम फ्रेन्च क्लब पिएसजीलाई हराएको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको होम म्याचमा डर्टमुन्डले पाहुना टोली पिएसजीलाई २–१ को हार चखाएको हो ।

डर्टमुन्डको जितमा यसै जनवरी सिजनमा अनुबन्ध भएका १९ वर्षका नर्वेजियन युवा फरवार्ड हल्यान्ड नायक बने । उनले २ वटै गोल दोस्रो हाफमा गरे । पिएसजीका लागि १ गोल नेइमारले गरे ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ ०–० मा सकिएको थियो । तर, दोस्रो हाफमा ३ गोल भए । जहाँ ६९औं मिनेटमा डर्टमुन्डका लागि हल्यान्डले पिएसजीका गोलकिपर केलर नाभाससँग वान भर्सेस वानमा गोल गरे । तर, खेलको ७५औं मिनेटमा नेइमारले केलियन एमबाप्पेको क्रसमा आकर्षक गोल गरेर खेल १–१ बनाएका थिए ।

फेरि डर्टमुन्डका लागि हल्यान्डले २ मिनेटमै व्यक्तिगत दोस्रो गोल हाने । रेनाको असिस्टमा उनले निकै शानादर गोल गरेका थिए । त्यसपछि पिएसजी खेलमा फर्किन सकेन । र, खेल डटर्मुन्डले २–१ ले जित्यो ।

अब अर्को महिना आफ्नो घरमा हुने दोस्रो लेगमा पिएसजीले नतिजा उल्टाउनुपर्ने दबाब बढेको छ । अन्यथा पिएसजी लगातार तेस्रो वर्ष अन्तिम १६ बाटै आउट हुनेछ ।

प्रकाशित मिति ७ फाल्गुन २०७६, बुधबार ०३:३३
Loading...