च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल भर्सेस युभेन्टस !

एजेन्सी, फागुन ६
इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज (मंगलबार) राति अन्तिम १६ मा पहिलो लेगको खेल स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग उसकै घरमा खेल्दैछ । सो खेलअघि लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले यसपटक च्याम्पियन्स लिगको फाइनल खेल्न सक्ने टोलीबारे ठट्टापूर्ण भविष्यवाणी गरेका छन् ।

साबिक विजेता लिभरपुलले यो सिजन पनि उपाधि जित्छ भन्ने ठोकुवा आफ्नो नरहेको क्लोपले बताएका छन् । त्यस्तै, उनले इटालियन क्लब युभेन्टसलाई यो सिजनको प्रमुख उपाधि दाबेदार टिमका रूपमा आफूले हेरेको पनि बताएका छन् । क्लोपले सिजन सुरु हुनुअघि आफूले युभेन्टसलाई च्याम्पियन्स लिग जित्न सक्ने नम्बर वान टिमका रूपमा हेरेको बताए ।

क्लोपले आफ्नो टिमबारे भनेका छन्, ‘हामी मान्छौं कि, हामी यसपटक गत सिजनभन्दा निकै राम्रो फुटबल खेलिरहेका छौं । तर, यसपटक पनि च्याम्पियन्स लिग जित्छौं भन्ने मेरो ठूलो दाबी छैन,’ क्लोपले भने, ‘त्यहाँ थुप्रै ठूला र बलिया टोलीहरू छन् । तर, हामी उपाधि रक्षा गन आफ्ना तर्फबाट १०० प्रतिशत प्रयत्न गर्नेछौं ।’

क्लोपले युभेन्टस हाल घरेलु लिगमा बलियो अवस्थामा नरहे पनि च्याम्पियन्स लिगको फाइनल पुग्न सक्ने टिमका रूपमा आफूले हेरेको बताए । ‘नढाँटी भन्नुपर्दा सिजन सुरु हुनुअघि मेरा लागि युभेन्टस च्याम्पियन्स लिगको पहिलो दाबेदार टिम थियो । किनभने, उनीहरूसँग एकसे एक खेलाडी छन् । क्रिस्टियानोजस्ता च्याम्पियन्स लिगका सर्वाधिक सफल खेलाडी छन् । टोलीमा अन्य पनि गुणस्तरीय खेलाडी छन्,’ क्लोपले भने, ‘तर, उनीहरूले त्यो दाबेदारी देखाउन पनि यहाँसम्म आइपुग्दा घरेलु लिगमा कम्तीमा १० अंकको अग्रता बनाउनुपर्ने थियो । सायद पछिल्लो समय उनीहरू उत्कृष्ट अवस्थामा छैनन् कि !’

क्लोपले पत्रकारको प्रश्नमा ठट्टा गर्दै यसपटक फाइनलमा लिभरपुल र युभेन्टस पुगे आफ्नो भविष्यवाणी पूरा हुने बताए । ‘सिजन सुरु हुनुअघिको मेरो भविष्यवाणी पूरा हुन्छ भने भने फाइनलमा हामी युभेन्टसलाई पाउनेछौं,’ क्लोपले हाँस्दै भने, ‘तर ….. हामी दुवै चाँडै बाहिरिन पनि सक्छौं । यो फुटबल हो, जे पनि हुन सक्छ ।’

क्लोपले आफूहरूको ध्यान अब च्याम्पियन्स लिगमा केन्द्रित हुने पनि बताए । ‘प्रिमियर लिगमा अब हामी सुरक्षित छौं । हामी निकै खुसी छौं । किनभने, हामी लामो समयपछि लिग जित्दैछौं,’ क्लोपले भने, ‘अबका दिनमा हाम्रो मूल ध्यान च्याम्पियन्स लिगमा हुनेछ ।’

प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार २१:३१
Loading...