बार्सिलोनाको रक्षापंक्तिलाई झट्का : अल्बाले ठूला खेल गुमाउने

एजेन्सी, फागुन ६
स्पेनिस क्लब बार्सिलोनाका प्रमुख डिफेन्डर जोर्डी अल्बाले आगामी केही ठूला खेल गुमाउने भएका छन् । उनले शनिबार ला लिगामा घरेलु मैदानमा गेटाफेविरुद्धको खेल दौरान चोट बोकेर २२औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थानमा जुनियर फिर्पो मैदान छिरेका थिए । बार्सिलोनाले सो खेल घरमा २–१ ले जितेको थियो ।

बार्सिलोनाले सोही दिन अल्बा खेलको १७औं मिनेटमा घाइते भएको पुष्टि गरेको थियो । उनको दायाँ खुट्टामा चोट लागेको छ । खेलपछि क्लबले प्रेस नोट जारी गर्दै अल्बा घाक्ष्ते भएको जानाकरी दिँदै उनको रिकभरी अवधि उनको मेहनतमा भर पर्ने उल्लेख गरेको थियो ।

यसैबीच, स्पेनिस मिडियाले अल्बाले आगामी चार खेलसम्म गुमाउन सक्ने जनाएका छन् । शनिबार ला लिगामा आफ्नो घरमा एइबारविरुद्ध हुने खेलसहित आगामी बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ मा इटालियन नापोलीसँग हुने महत्त्वपूर्ण खेल पनि अल्बाले गुमाउनेछन् । सो खेल बार्सिलोनाले नापोलीको घरमा खेन्नेछ ।

त्यसपछि मार्च १ तारिखमा ला लिगामा सिजनको दोस्रो इएल क्लासिको भिडन्त हुनेछ । सो खेलमा पनि अल्बा उपलब्ध हुनेछैनन् । त्यस्तै, मार्च ७ मा ला लिगामै हुने रियल सोसिडाडविरुद्धको खेल पनि उनले गुमाउने सम्भावना प्रबल छ ।

अल्बा घाइते भएपछि अब उनको स्थान जुनियर फिर्पोले लिनेछन् । फिर्पो हालको अवस्थामा फिट छन् । तर, ठूला खेलका मुखमा अनुभवी डिफेन्डर घाइते हुँदा प्रशिक्षक क्विके सेटिनलाई भने टोली बनाउन चुनौतीपूर्ण हुनेछ ।

यता, बार्सिलोनामा अहिले चोट बोक्ने खेलाडी अल्बा मात्रै हैनन् । फरवार्ड लुइस स्वारेज र विंगर उसामान डेम्बेले गम्भीर चोटका कारण यो सिजनभरि नै टोलीबाहिर भएका छन् ।

प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार २०:२९
Loading...