रोनाल्डोका पूर्वसहकर्मी रोड्रिग्वेजमाथि युभेन्टसको नजर

एजेन्सी, फागुन ५
इटालियन क्लब युभेन्टसले आगामी समर सिजनमा स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर हामेस रोड्रिग्वेज भित्र्याउन चासो देखाएको छ । इटालियन मिडियाले यस्तो खबर प्रकाशित गरेका छन् । हाल टोलीमा रहेका केही मिडफिल्डरलाई क्लबले आगामी समरमा बेच्ने तयारी गरेको छ ।

र, क्लबले केही नयाँ ठूला प्रतियोगितामा अनुभव भएका खेलाडी भित्र्याउन चाहेको छ । गत सिजन जर्मन क्लब बार्यन म्युनिखमा एकवर्षे लोन अवधि पूरा गरेर समरमा रियल फर्किएका रोड्रिग्वेज चोटका कारण यो सिजन राम्रोसँग खेल्न पाएका छैनन् । हालसम्म उनले मात्रै १० खेल खेल्दै १ गोल गरेर १ गोलमा असिस्ट गरेका छन् ।

प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा मैदानमा पर्याप्त समय नपाउने भएपछि कोलम्बियन खेलाडी निकै निराश रहेका छन् । सन् २०१४ मा रियलमा अनुबन्ध भएका उनले रियलले च्याम्पियन्स लिगमा ह्याट्रिक उनी टोलीको महत्त्वपूर्ण हिस्सा थिए ।

रियलबाटै युभेन्टस पुगेका क्रिस्टियानो रोनाल्डोसँग व्यक्तिगत रूपमा राम्रो सम्बन्ध रहेका रोड्रिग्वेज गत समरमा इटालीको नापोली सरुवाका लागि चर्चामा थिए । तर, अन्तिम समयमा दुई क्लबबीच सम्झौता बन्न नसक्दा रोड्रिग्वेज रियलमै रहेका थिए ।

हाल रियलमा रोड्रिग्वजको सम्झौता सन् २०२१ को जुनसम्मका लागि छ । उनी आगामी जुलाईमा २९ वर्षका हुनेछन् । हालको अवस्थामा रियल उनीसँग नयाँ सम्झौता गर्ने पक्षमा देखिँदैन । यदि सिजन २०२०–२१ सम्म रोड्रिग्वेज रियलमै रहे त्यसपछि भने उनले फ्री ट्रान्सफरमा क्लब छाड्न पाउनेछन् ।

प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार १५:४४
Loading...