च्याम्पियन्स लिग अन्तिम १६ : आज डर्टमुन्ड र पिएसजीको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, फागुन ६
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज रातिबाट अन्तिम १६ का खेल सुरु हुँदैछन् । जसमा आज प्रि–क्वार्टरफाइनलअन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमुन्ड र फ्रेन्च क्लब पिएसजी पहिलो लेगको खेलमा भिड्दैछन् । यो खेलका लागि डर्टमुन्डले सुपरस्टाहरूको आक्रमण लाइन भएको पिएसजीलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको डर्टमुन्ड अहिले घरेलु लिग बुन्डेसलिगामा तेस्रो स्थानमा छ । २२ खेलबाट ४२ अंक जोडेको उसले यो सिजन लिगमा ३ खेल मात्रै हारेको छ । उसले लिगमा हालसम्म कूल ६३ गोल गरेको छ, जुन अन्य कुनै पनि क्लबको भन्दा बढी हो ।

यता, आज डर्टमुन्डको घरमा उत्रिन लागेको पिएसजी हाल लिग वानमा शीर्ष स्थानमा छ । उसले २५ खेल सकिँदा ६२ अंक जोडेको छ । उसले हालसम्म लिगमा कूल ६७ गोल गरेको छ । ऊ ताजा अवस्थामा ११ अंककको अग्रतासहित उपाधि होड लिड गरिरहेको छ ।

डर्टमुन्डलाई हल्यान्डको घर, पिएसजीका नेइमार फर्किंदै

आज आफ्नो घरमा प्रतियोगिताकै एक बलियो टोलीविरुद्ध उत्रिँदा डर्टमुन्ड भने चोटको पीडामा छ । टोलीका प्रमुख खेलाडी मार्को रेउस र थोमस डेलानी चोटका कारण यस खेलमा हुनेछैनन् । त्यस्तै, अर्का प्रमुख खेलाडी जुलियन ब्रान्ट पनि घाइते भएकाले यस खेलमा छैनन् ।

तर, डर्टमुन्डको टोलीमा जनवरी सिजनमा क्लब आइपुगेका युवा फरवार्ड अर्लिङ हल्यान्ड प्रारम्भिक टोलीमा परेका छन् । र, उनी पिएसजीविरुद्ध पहिलो रोजाइमै उत्रिने पक्का छ । उनको पूर्वक्लब रेड बुल च्याम्पियन्स लिगको अन्तिम ३२ बाटै आउट भइसकेकाले उनले यो सिजन डर्टमुन्डबाट पनि च्याम्पियन्स लिग खेल्दैछन् । अन्यथा, एक खेलाडीले एकै सिजन दुई क्लबबाट च्याम्पियन्स लिग खेल्न पाउँदैनन् ।

डर्टमुन्डका १९ वर्षे नर्वेजियन नयाँ स्टारले डर्टमुन्डका लागि सुरुआती ६ खेलबाट ९ गोल गरेर सनसनी मच्चाइसकेका छन् । उनले अस्ट्रियन क्लब रेडबुलमै छँदा च्याम्पियन्स लिगको अन्तिम ३२ मा एक ह्याट्रिकसहित ८ गोल गरिसकेका छन् । आज पिएसजीविरुद्ध उनी टोलीका लागि प्रमुख हतियार हुनेछन् ।

यता, पाहुना टोली पिएसजी भने आज यसअघि घाइते भएर टोलीबाहिर रहेका नेइमारसहित मैदान उत्रिनेछ । खेलअघि पिएसजीका प्रशिक्षकले नेइमार डर्टमुन्डविरुद्ध खेल्ने स्पष्ट पारेका छन् । आज पिएसजीको टोलीमा कोलिन डाग्बा र डाइल्लो चोटका कारण टोलीमा छैनन् भने प्रेस्नेल किम्पेम्बे ले पनि चोटकै कारण खेल्नेमा आशंका छ ।

प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार १२:५४
Loading...