च्याम्पियन्स लिग अन्तिम १६ : एथ्लेटिको मड्रिडको घरमा उत्रिँदै लिभरपुल

काठमाडौं, फागुन ६
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज रातिबाट अन्तिम १६ का खेल सुरु हुँदैछन् । जसमा आज प्रि–क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड र इंग्लिस क्लब लिभरपुल भिड्दैछन् । खेल एथ्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिसानो रंगशालामा राति १ः४५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको साबिक विजेतासमेत रहेको लिभरपुल यो सिजन पनि उत्कृष्ट लयमा छन् । यस सिजन उसले दुई उपाधि जितिसकेको छ भने घरेलु लिग प्रिमियर लिगमा २५ अंकको अग्रतासहित शीर्ष स्थानमा छ । यो सिजन लिभरपुल २६ खेल सकिँदासम्म अपराजित रहँदै मात्रै २ अंक गुमाएको छ । उसले २५ खेल जितेको छ भने एक खेल बराबरी गरेको छ । उसले प्रिमियर लिगमा कूल ६१ गोल गरेको छ ।

यता, आज लिभरपुललाई आफ्नो घरमा भित्र्याउन लागेको एथ्लेटिको भने खराब अवस्थामा छ । लिगका २४ खेल सकिँदा एथ्लेटिको मात्रै ४० अंक जोडेर चौथो स्थानमा छ । ला लिगामा एथ्लेटिकोले यो सिजन ४ खेल हारेको छ भने १० खेल बराबरी गर्दा मात्रै १० खेल जितेको छ । उसले लिगमा यो सिजन कूल २४ खेल खेल्दा मात्रै २५ गोल गरेको छ, जुन निकै कमजोर अवस्था हो ।

यो तथ्यांक हेर्दा आज आफ्नो घरमा एथ्लेटिको लिभरपुलसँग चर्को दबाबमा हुनेछ । यो सिजन कोपा डेल रे फुटबल र स्पेनिस सुपर कप दुवै हारिसकेको अवस्थामा एथ्लेटिकोसँगको खेल अर्को चुनौती हुनेछ ।

एथ्लेटिको र लिभरपुल पछिल्लोपटक सन् २०१७ मा आउदी कपको फाइनलमा भिडेका थिए । ९० मिनेटको खेल १–१ मा सकिएपछि पेनाल्टीमा पुगेको खेलमा एथ्लेटिकोले लिभरपुललाई ५–४ ले हराएको थियो ।

आज एथ्लेटिको आफ्नो घरमा उत्रिँदा लामो समयदेखि चोटका कारण टोलीबाहिर रहेका अनुभवी फरवार्ड डिएगो सिमोनी चोटमुक्त हुँदै मैदान फर्किनेछन् । आज एथ्लेटिकोको आक्रमण लाइनमा कोस्टासँगै एन्जल कोरेरिया र अल्भारो मोराटा हुनेछन् । युवा फरवार्ड जुआओ फेलिक्स टोलीबाहिर छन् ।

प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार १२:१०
Loading...