भिएआरले धोका दिँदा युनाइटेडसँग चेल्सीले आफ्नै घरमा भोग्यो नमिठो हार

काठमाडौं, फागुन ६
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी आफ्नै घरेलु मैदानमा पाहुना टोली म्यानचेस्टर युनाइटेडसँग नमिठो हारको सिकार भएको छ । गत राति भएको खेलमा आफ्ना २ गोल भिएआरले रद्द गरिदिँदा चेल्सीले घरेलु मैदानमा हार टार्न सकेन ।

स्टामफोर्ड ब्रीजमा भएको खेलमा युनाइटडले खेलको ४५औं मिनेटमा एन्थोनी मार्सियालको सुन्दर हेडिङ गोलबाट अग्रता लएको थियो । मार्सियालले बक्स भित्रबाट गरेको हेडिङ गोल चेल्सीका गोलकिपरले बचाउन मौका नै पाएनन् ।

त्यसपछि खेलको ५४औं मिनेटमा चेल्सीका लागि सब्सिच्युट खेलाडी जोउमा वान वैशाकाले गोल गरेपनि भिएआरले गोल हुनेक्रममा फउल भएको भन्दै सो गोल रद्द गरिदिएको थियो ।

त्यसपछि खेलको ६६औं मिनेटमा युनाइटेडका डिफेन्डर ह्यारी मागुइरेले गोल गरेर चेल्सीलाई ०–२ ले पछि पारेका थिए । नयाँ खेलाडी ब्रुनो फर्नान्डेजले कर्नरमा हानेको बलमा उनले निकै सुन्दर हेडिङ गोल गरेपछि चेल्सीलाई अर्को झट्का लागेको थियो ।

०–२ ले पछि परेको अवस्थामा चेल्सीले दोस्रो गोल पनि गरेको थियो । तर, सो गोल पनि भिएआरले अफसाइड रहेको भन्दै रद्द गरेपछि चेल्सीको खेलमा फर्किने प्रयास पानीमा पोखियो । सो गोल ओलिभर जिरुउडले हेडिङमार्फत् निकै शानदार ढंगले गरेका थिए ।

चेल्सीको दोस्रो गोल पनि रद्द भएपछि खेलमा थप गोल भएन र खेल युनाइटेडले खेल ०–२ ले जित्यो । अब यो जितसँगै युनाइटेड २६ खेलबाट ३८ अंक बनाएर अंक तालिकाको सातौं स्थानमा चढेको छ । पराजित चेल्सी ४१ अंकसहित चौथो स्थानमा यथावत छ ।

प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार ०७:४१
Loading...