लेवान्डोस्की बने ४० गोल पूरा गर्ने पहिलो खेलाडी : दोस्रो स्थानमा रोनाल्डो

काठमाडौं, फागुन ५
जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की जारी सिजन ४० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । युरोपियन टप–५ लिगमा उनले क्लब र देशबाट गरी यो सिजन ४० गोलको आँकडा पूरा गरेका हुन् ।

गत राति बुन्डेसलिगामा अवे मैदानमा बार्यनले एसफी कोल्नलाई १–४ ले हराउँदा १ गोल गरेपछि लेवाडोस्कीका नाममा यो सिजनको ४० गोल पूरा भएको हो । यो सिजन उत्कृष्ट लयमा रहेका लेवान्डोस्की एक मात्रै यस्ता खेलाडी हुन्, जसले जारी सिजन ४० गोल पूरा गरेका छन् ।

उनले यस सिजन क्लब बार्यनबाट कूल ३६ गोल र देश पोल्यान्डबाट ४ गोल गरेका छन् । क्लबका लागि उनले युरोपियन च्याम्पियन्स लिगमा १० गोल गर्दा बुन्डेसलिगामा २३ गोल गरेका छन् भने जर्मन कपमा ३ गोल गरेका छन् । यता, पोल्यान्डका लागि यो सिजन सुरु भइकन युरो कप छनौट खेलमा कूल ४ गोल गरेका छन् ।

लेवान्डोस्की जारी सिजन बुन्डेसलिगामा २३ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा छन् भने च्याम्पियन्स लिगमा पनि उनी १० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमै छन् ।

जारी सिजन लेवान्डोस्कीपछि युरोपमा सर्वाधिक बढी गोल इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र इटालीकै क्लब लाजियोका फरवार्ड सिरो इम्मोबाइलका नाममा छ । रोनाल्डोका नाममा कूल ३५ गोल छ भने इम्मोबाइलका नाममा ३२ गोल छन् ।

हालै ३५ वर्षका पुगेका रोनाल्डोले यो सिजन क्लबका लागि कूल २४ गोल गर्दा युरो कप छनौटमा पोर्चुगलका लागि कूल ११ गोल गरेका छन् । जारी सिजन स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले भने मात्रै २१ गोल गरेका छन् । यो सिजन गोल गर्ने मामिलामा उनी निकै पछि छन् । उनले क्लबका लागि कूल १९ गोल गर्दा अर्जेन्टिनाका लागि २ गोल गरेका छन् । हालको अवस्थामा मेस्सी लेवान्डोस्की भन्दा १९ गोल र आफ्ना खास प्रतिस्पर्धी रोनाल्डोभन्दा १४ गोलले पछि छन् ।

प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार १६:५८
Loading...