मार्टिनेज दिन बार्सिलोनासँग इन्टर मिलानले राख्यो यस्तो सर्त

एजेन्सी, फागुन ५
स्पेनिस क्लब बार्सिलोना आगामी समर सिजनमा इटालियन क्लब इन्टर मिलानका युवा फरवार्ड लौटारो मार्टिनेज भित्र्याउन कम्मर कसेर लागेकेो छ । बार्सिलोना टोलीका उरुग्वेन फरवार्ड लुइस स्वारेजको दीर्घकालीन विकल्पका रूपमा अर्जेन्टिनी फरवार्ड मार्टिनेजलाई भित्र्याउन चाहन्छ ।

तर, प्रशिक्षक एन्टोनिायो कोन्टेको टोलीमा प्रमुख फरवार्ड मार्टिनेजलाई मिलानले सहजै छाड्ने संकेत आजसम्म गरेको छैन । स्पेनिस पत्रिका ‘डन बालोन’ मा प्रकाशित ताजा रिपोर्टअनुसार मिलानले मार्टिनेज दिन बार्सिलोनाका फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान डिलमा मिसाउनुपर्ने सर्त राखेको छ ।

अर्थात्, मिलान मार्टिनेजका लागि कम मूल्यमै सहमत हुने तर मार्टिनेजको डिलमा ग्रीजम्यान दिन तयार भए मात्रै आफूहरू सम्भावित सरुवाका लागि छलफल गर्न राजी हुने सन्देश मिलानले बार्सिलोनाका अधिकारीलाई पठाएको बताइएको छ । हाल मिलानमा मार्टिनेजको रिलिज क्लज १११ मिलियन युरो छ ।

तर, मिलानले मार्टिनेज बेच्ने अवस्था आए खेलाडीसँग नयाँ सम्झौता गरेर रिलिज क्लजमा भारी वृद्धि गर्ने तयारी गरेको छ । यता, बार्सिलोना भने मार्टिनेजको हालको रिलिज क्लज तिर्न तयार छ ।

बार्सिलोनाले ग्रीजम्यानलाई गत समरमा लिग प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा भित्र्याएको थियो ।

प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार १५:२५
Loading...