रियल मड्रिड आफ्नै घरमा १८औं स्थानको सेल्टाँग बराबरीमा रोकियो

काठमाडौं, फागुन ५
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड आफ्नै घरेलु मैदानमा १८औं स्थानको टिम सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । गत राति घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियललाई भ्रमणकारी टोली सेल्टाले २–२ को बराबरीमा रोकेर स्पष्ट जितबाट रोकिदिएको हो ।

यो बराबरीपछि रियललाई उपाधि होडमा ठूलो झट्का लागेको छ । बार्सिलोनासँग ३ अंकको स्पष्ट अग्रता बनाउन ज्यादै महत्त्वपूर्ण खेलमा अंक बाँडेपछि बार्सिलोनासँगको अंक दूरी ३ बाट अब मात्रै १ मा खुम्चिएको छ ।

रियल आफ्नो घरमा खेलको सातौं मिनेटमै गोल खाएर पछि परेको थियो । रियलको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदा फ्योडोर सोमलोभले गोल गरेर रियललाई झट्का दिएका थिए । सोही गोलको मदतमा सेल्टाले पहिलो हाफमा ०–१ को अग्रता बनायो ।

त्यसपछि खेलको ५२औं मिनेटमा रियलका लागि टोनी क्रुसले बुलेट प्रहारमा शानदार गोल गरे । बक्स नजिकैबाट मार्सेलोले दिएको क्रस पासमा क्रुसले सेल्टाका ३ जना डिफेन्डरका माझबाट शक्तिशाली प्रहार गर्दै बललाई सोझै जाली चुमाएका थिए ।

त्यसपछि खेलको ६५औं मिनेटमा रियलले पेनाल्टी पायो । बल लिएर अघि बढेका इडेन हाजार्डलाई सेल्टाका गोलकिपरले बक्समा लडाएपछि रेफ्रीले रियललाई पेनाल्टीको मौका दिएका थिए, जसमा कप्तान सर्जियो रामोसले गोल गर्दै टिमलाई जिततर्फ अघि बढाएका थिए ।

तर, रियल अन्तिम समय सम्हालिन सकेन । खेलको ८५औं मिनेटमा सान्टी मिनाले डेनिस स्वारेजको सुन्दर पासमा आकर्षक गोल गरेपछि खेल २–२ आइपुग्यो । त्यसपछि बाँकी समयमा रियलले गोल निकाल्न सकेन । र, आफ्नै घरमा रेलिगेसन जोनको टिमसँग अंक बाँड्न बाध्य भयो ।

अब यो बराबरीपछि पनि रियल अंकक तालिकाको शीर्ष स्थानका यथावत छ । उसले २४ खेलबाट ५३ अंक जोडेको छ । ऊ समान खेल खेलेको दोस्रो स्थानको बार्सिलोनाभन्दा १ अंकले अघि छ । रियलबाट १ अंक खोसेको सेल्टा रेलिगेसन जोनबाट उम्केर १७औं स्थानमा चढेको छ ।

प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार ०६:५३
Loading...