प्रभावशाली जितसहित बार्यन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लियो

काठमाडौं, फागुन ४
जर्मन लिग बुन्डेसलिगामा बार्यन म्युनिख प्रभावशाली जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा चढेको छ । आइतबार राति भएको २२औं खेलमा बार्यनले एफसी कोल्नलाई उसकै घरमा १–४ ले स्तब्ध बनायो ।

बार्यनका लागि खेल सुरु भएको तेस्रो मिनेटमै रोवर्ट लेवान्डोस्कीले थोमस मुलरको पासमा गोल गरेर भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेटपछि नै बार्यनका लागि किङ्स्ले कोमानले दोेस्रो गोल गरे । सो गोलमा पनि मुलरले नै असिस्ट गरेका थिए ।

बार्यनले लगातार खेलमा नियन्त्रण जमाउँदै १२औं मिनेटमै तेस्रो गोल हान्यो । सो गोल सेग्री गेनाब्रीले जोसे किमिचको पासमा गरेका थिए । त्यसपछि बार्यनलाई चौथो गोल गर्न ६६औं मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । सो गोल गेनाब्रीले नै गरेका थिए । उनको गोलपछि बार्यन ०–४ को अवस्थामा पुगेको थियो ।

त्यसपछि घरेलु टोली कोल्नका लागि ७०औं मिनेटमा मार्क उठले सान्त्वाना गोल गरेपछि खेल बार्यनले १–४ ले जित्यो । अब यो जितसँगै बार्यनले २२ खेलबाट ४६ अंक जोडेर शीर्ष स्थानमा चढेको छ । उसले समान खेल खेलेको आरबी लेइपजिगलाई १ अंकले पछि पारेको हो ।

प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार २२:२९
Loading...