टोटनह्यामको संघर्षपूर्ण जितमा सन बने हिरो : ९४औं मिनेटमा विजयी गोल

काठमाडौं, फागुन ४
दक्षिण कोरियन फरवार्ड सन हेङ–मिनले महत्त्वपूर्ण २ गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको लिगको २६औं खेलमा टोटनह्यामले अवे मैदानमा १७औं स्थानको एस्टोन भिल्लामाथि २–३ को संघर्षपूर्ण जित निकालेको हो ।

अवे मैदानमा टोटनह्याम खेलको नवौं मिनेटमा आत्मघाती गोल खाएर पछि परेको थियो । टबी अल्डरवेरेल्डले बक्समा बल क्लियर गर्नेक्रममा आफ्नै खुट्टामा लागेर गोल हुन पुगेको थियो । त्यसपछि २७औं मिनेटमा टोटनह्यामका लागि टबीले नै शानदार गोल गरेर खेल १–१ बनाए ।

फेरि पहिलो हाफको थप समयमा टोटनह्यामले पेनाल्टी पायो । बक्समा भिल्लाका खेलाडीले फउल गरेपछि रेफ्रीले भिएआरबाट टोटनह्यामलाई पेनाल्टी दिएका थिए । तर, सनले हानेको पेनाल्टी भिल्लाका गोलकिपरले रोके पनि रिबाउन्डमा सनले नै गोल गरेपछि पहिलो हाफमा टोटनह्यामले १–२ को अग्रता लियो ।

दोस्रो हाफमा घरेलु टोली भिल्ला खेलको ५३औं मिनेटमा खेलमा फर्कियो । बिजर्न इंगेल्सले सो गोल गरेका थिए । सो गोलपछि भिल्लाको घरमा खेल २–२ अवस्थामा सकिनेतर्फ अघि बढेको थियो । तर, ९० मिनेटपछि थपिएको समयको चौथो मिनेटमा सनले सुन्दर गोल गरे ।

भिल्लाका खेलाडीले आफ्ना साथीलाई दिएको ब्याक पास गल्तीले चिप्लिएपछि सोही बललाई दौडाएर सनले भिल्लाका गोलकिपरलाई कनिठ गरी बिट गर्दै सोलो गोल हानेपछि टोटनह्यामले २–३ को जित निकाल्यो ।

अब यो जितपछि टोटनह्यामले २६ खेलबाट ४० अंक जोडेको छ । र, ऊ लिगको पाँचौं स्थानमा पनि चढेको छ । टोटनह्याम अब एक खेल कम खेलेको चौथो स्थानको चेल्सीभन्दा १ अंकले पछि छ । पराजित भिल्ला २५ अंकसहित १७औं स्थानमा छ ।

प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार २२:०६
Loading...