रोनाल्डोबिनाको युभेन्टसले १० खेलाडीमा सीमित ब्रेसियालाई हरायो

काठमाडौं, फागुन ४
प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा इटालियन युभेन्टसले सिरी ए लिगमा सहज जित निकालेको छ । आइतबार राति भएको लिगको २४औं खेलमा युभेन्टसले १० खेलाडीमा सीमित भ्रमणकारी टोली ब्रेसियालाई २–० ले हरायो ।

युभेन्टसको घरेलु मैदान एलिनाज स्टेडियममा भएको खेलमा १९औं स्थानको पाहुना टोली ब्रेसिया ३७औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । ब्रेसियाका मिडफिल्डर फ्लोरिन एई दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड खाएर मैदान छाडेपछि युभेन्टसले पाहुना टोलीमाथि दबाब बढाएको थियो ।

फ्लोरिनले दोस्रो पहेंलो कार्डका लागि बक्स नजिकै आरोन राम्सेलाई लडाएपछि युभेन्टसले फ्रि किक पायो । जसमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले हानेको शानदार फ्रि किक प्रहारले बतासिएर जाली चुमेपछि युभेन्टसले ३८औं मिनेटमा खेलमा अग्रता लियो ।

त्यसपछि युभेन्टसका लागि खेलको ७५औं मिनेटमा जाउन काउडराडोले दोस्रो गोल गरे । बक्सभित्र ब्लेसी माटुइडीले चलाखीपूर्वक दिएको पासमा काउडराडोले कुनै गल्ती नगरी गोल गरेर टिमलाई २–० को अग्रता दिलाए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल युभेन्टसले जित्यो ।

अब यो जितसँगै युभेन्टस अंक तालिकाको शीर्ष स्थानमा पनि चढेको छ । उसको खातामा २४ खेलपछि ५७ अंक छ । तर, आजै राति दोस्रो स्थानको इन्टर मिलान र तेस्रो स्थानको लाजियोको खेल हुने हुँदा सो खेलपछि अंक तालिका फेरबदल हुनसक्ने छ । एक खेल कम खेलेको मिलानको खातामा ५४ र लाजियोको खातामा ५३ अंक छ ।

यदि आज राति मिलानले लाजियोलाई हराए ऊ पुनः युभेन्टसलाई पछि पार्दै शीर्ष स्थानमा चढ्नेछ । सो खेल बराबरीमा सकिए वा लाजियो विजयी भए युभेन्टस नै शीर्ष स्थानमा रहनेछ ।

प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार २१:३९
Loading...