म्यानचेस्टर सिटीमाथि प्रिमियर लिगमा पनि कारबाही हुन सक्ने !

एजेन्सी, फागुन ४
युरोपियन फुटबलमा आगामी दुई सिजनसम्मका लागि प्रतिबन्धमा परेको इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि घरेलु प्रिमियर लिगमा पनि काबारही हुने खतरा बढेको छ । अघिल्लो दिन युइएफएले सिटीमाथि यो सिजनपछि दुई सिजन च्याम्पियन्स लिग खेल्न नपाउने गरी प्रतिबन्ध घोषणा गरेको थियो ।

तर, सिटी अझै थप कारबाहीको जोखिममा रहेको छ । युइएफएले सिटीमाथि ‘फाइनान्सियल फेयर प्ले’ मुद्दामा दोषी ठहर गर्दै प्रतिबन्ध लगाउने फैसला गरेको थियो । सोही मुद्दामा इंग्ल्यान्डको फुटबल संघले पनि आफ्नो तर्फबाट छानबिन गरिरहेको छ । यदि सो छानबिनमा सिटी दोषी ठहर भए ऊमाथि घरेलु लिगमा पनि कडा कारबाही हुनेछ ।

सिटीमाथि फुटबल संघले गरिरहेको र युइएफएले गरेको छानबिनको विषय एकै भए पनि सीमा भने फरक छन् । र, तिनको छानबिन तथा कारबाहीको रूप र सीमा पनि फरक–फरक हुन सक्छन् ।

आर्थिक अनुशासन तथा नियन्त्रण मुद्दामा युइएफए र प्रिमियर लिगमा दोषी ठहर भएअनुसार कारबाहीको दायरा, सजायको स्वरूप फरक–फरक हुन सक्ने भएकाले सिटीमाथि कस्तो कारबाही हुन्छ भन्ने यकिन छैन । तर, इंग्लिस मिडिया रिपोर्टअनुसार सिटीमाथि इंग्लिस फुटबल संघले छानबिन सकाएर यसै सिजनभित्र फैसला सुनाए र दोषी पाए जारी लिगको ‘अंक तालिकाबाट निश्चित अंक खोस्न सक्ने’ सम्मको कारबाही गर्न सक्छ । यस्तो कारबाही यसअघि पनि केही क्लबमाथि भइसकेको छ ।

कडा कारबाहीको फैसला भएको खण्डमा सिटीले एक सिजन प्रिमियर लिग खेल्नै नपाउनेसम्मको प्रतिबन्ध पनि लाग्न सक्नेछ । यस्ता मुद्दामा फुटबल संघले आफ्नो कानुनअनुसार क्लबहरूमाथि कारबाही गर्ने अधिकार पाउँछन् ।

‘मिरर’ र ‘बिबिसी’ मा प्रकाशित समाचारअनुसार यदि छानबिनबाट सिटी दोषी साबित भए उसले खेलिरहेको जारी सिजन वा अन्य सिजनको समेत लिगमा उसले बटुलेको निश्चित अंक कारबाहीस्वरूप कटौती गर्ने सम्भावना प्रबल रहन्छ । यसलाई कारबाहीको सबैभन्दा नरम रूप मानिन्छ । साथै, क्लबमाथि आर्थिक जरिमानासमेत गराइनेछ ।

प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार १९:३१
Loading...