ह्याकरले बार्सिलोनाको ‘ट्वीटर ह्याक’ गरेर ‘नेइमार भित्र्याएपछि’ …….

एजेन्सी, फागुन ४
स्पेनिस फुटबल क्लब बार्सिलोनाको अफिसियल सामाजिक सन्जाल ट्वीटर अकाउन्ट ह्याक भएको छ । ह्याकरले गत राति ला लिगामा गेटाफेसँगको खेललगत्तै क्लबको अफिसियल ट्वीटर अकाउन्ट केही समयका लागि ह्याक गरेर प्रयोग गरेका हुन् । दुईपटक अकाउन्ट ह्याक गरेर ह्याकरले सोही अकाउन्टबाट पोस्टसमेत गरेका थिए ।

ह्याकरले नै बार्सिलोनाको अकाउन्ट ह्याक भएको ट्वीट गर्दै क्लबका केही गोप्य सन्देश आफूहरूले पढेको वा थाहा पाएको भन्दै पोस्ट नै गरेका थिए । उनीहरूले अफिसियल ट्वीरबाट नेइमारलाई बार्सिलोना फर्काउन गरिएको पोप्य संवाद पनि आफूहरूले पढेको जनाएका छन् ।

ह्याकरले बार्सिलोनाले अफिसियल रूपमा प्रयोग गर्ने ब्यानरमा नेइमार बार्सिलोनाको जर्सीमा रहेको तस्बिर पोस्ट गर्दै उनी बार्सिलोना आउने पक्का रहेको जनाएका छन् । गत राति क्याम्प नोउमा गेटाफेविरुद्धको खेल सकिनासाथ क्लबको ट्वीटर ह्याकरको कब्जामा पुगेको थियो । ट्वीटर ह्याक गरेपछि ह्याकरले लेखेका थिए–

‘हामीले केही गोप्य सन्देशहरू पढ्यौं । र, नेइमार बार्सिलोना फर्किने कुरा हामीले थाहा पायौं ।’

ह्याकरले केहीछिनकै बीचमा दोस्रोपटक बार्सिलोनाको ट्वीवटर ह्याक गरेका थिए । दोस्रोपटक ह्याक भएपछि उनीहरूले क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउलाई गाली गर्दै राजीनामा माग गरेका थिए । दोस्रो ट्वीटमा भने बार्सिलोनाको क्लबको नाम नै अरबिक भाषामा बदलेर ट्वीट गरेका थिए ।

ह्याक भएपछि ह्याकरले ट्वीटरको सुरक्षा क्षमता र अवस्था बलियो नरहेको भन्दै मजाक उडाएका छन् । उनीहरूले ट्वीटरको सुरक्षा क्षमता कति फितलो छ भनेर आफूहरूले उदांगो बनाइदिएको उल्लेख गरेका छन् ।

ह्याकरले आफूहरूलाई ‘आवर माइन’ नामले चिनाएका छन् । दोस्रो ट्वीटमा ह्याकरले लेखेका छन्– ‘हेलो, हामीले दोस्रोपटक ह्याक गर्यौं । अब सुरक्षा क्षमता धेरै राम्रो छ । तर, यो नै सर्वोत्कृष्ट होइन ।’

ह्याकरले ट्वीटरलाई कसरी सुरक्षित गर्नुपर्छ भनेर सहयोग चाहिए आफूहरूलाई सम्पर्क गर्न भनेर इमेल र वेबसाइटको ठेगानासमेत दिएका छन् ।

यता, ट्वीटर ह्याक भएपछि क्लब बार्सिलोनाले केहीबेरपछि सो कुरा पुष्टि गरेको छ । उसले आफ्नो ट्वीटर अकाउन्ट फिर्ता लिएको पनि उल्लेख गरेको छ ।

प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार १५:३५
Loading...